२०८३ वैशाख ६ , आइतबार
सुर्खेतको आकाशमा साहसिक पर्यटन:

 बयलकाँडाबाट उडान, कर्णालीको अर्थतन्त्रमा उत्साह



​सुर्खेत | पछिल्लो समय कर्णालीको राजधानी सुर्खेतको आकाश प्याराग्लाइडिङका कारण रङ्गिन थालेको छ। चुरे पहाडको काखबाट सुरु हुने यो साहसिक खेलले सुर्खेतलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित मात्र गरेको छैन, यस क्षेत्रको आर्थिक गतिविधिमा समेत नयाँ ऊर्जा थपेको छ।
​फेरिँदै पर्यटनको स्वरूप
​सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्र प्याराग्लाइडिङका लागि प्राकृतिक रूपमै उत्कृष्ट मानिन्छ। समुद्री सतहदेखि करिब १५०० मिटर उचाइमा रहेको यो स्थानबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपालको फाँटमा सुरक्षित अवतरण गराइन्छ। अनुभवी प्रशिक्षक देशवीर जिमीको नेतृत्वमा ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीले चार जना दक्ष पाइलमार्फत अहिले दैनिक व्यावसायिक उडान गरिरहेको छ। १६ वर्षदेखि यस क्षेत्रमा सक्रिय जिमीका अनुसार बयलकाँडाको हावाको सन्तुलित बहाव प्याराग्लाइडिङका लागि निकै सुरक्षित र सहज छ।


​सबैको पहुँचमा प्याराग्लाइडिङ
​पहिले प्याराग्लाइडिङ भन्नाले पोखरा पुग्नुपर्ने र खर्चिलो हुने बुझाइ थियो। तर अहिले सुर्खेतमै सस्तो र सुलभ दरमा उडान सुरु भएपछि यसको दायरा फराकिलो भएको छ। शिक्षण पेसामा आबद्ध रमेश विष्टदेखि पाँच वर्ष जापान बसेर फर्किएका ‘सेन्से’ सम्म अहिले सुर्खेतको आकाशमा उडिरहेका भेटिन्छन्। “पोखरा जान समय र बजेटले नभ्याउनेहरूका लागि सुर्खेत दूरीका हिसाबले पनि नजिक र सुलभ भएको छ,” स्थानीय निरु चौधरीले आफ्नो अनुभव सुनाइन्। डाक्टर, इन्जिनियर, विद्यार्थी र व्यवसायी गरी सबै वर्गका मानिसमा यो साहसिक खेल लोकप्रिय बन्दै गएको छ।
​आर्थिक विकास र समृद्धिको संकेत
​सुर्खेतमा प्याराग्लाइडिङ फस्टाउँदै जाँदा यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायलाई पुगेको छ। होटल, रेष्टुराँ, यातायात र स्थानीय गाइडहरूको आम्दानीमा वृद्धि भएको छ। आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाका अनुसार यस्ता पर्यटकीय गतिविधिले कर्णाली प्रदेशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मद्दत पुर्‍याएको छ।
​‘कर्णाली समृद्धि २०८२’ को अभियानसँगै अघि बढेको यो प्याराग्लाइडिङ व्यवसायले कर्णालीको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। व्यवस्थित टेकअफ, सुरक्षित फ्लाइङ र सहज ल्यान्डिङको व्यवस्थाले पर्यटकहरूमा यो साहसिक खेलप्रति विश्वास र आकर्षण दुवै बढेको देखिन्छ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार