२०८३ वैशाख ५ , शनिबार
वीरेन्द्रनगरमा सडक नाटक

गुन्जियो ‘खै मेरो बाल अधिकार ?’



सुर्खेत । बालअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक नाटक प्रदर्शन गरिएको छ। बालबालिकाले पाउनुपर्ने शिक्षा, स्वास्थ्य र संरक्षणजस्ता आधारभूत अधिकारबारे जनचेतना जगाउन शुक्रबार सडक नाटकमार्फत सन्देश प्रवाह गरिएको हो।

​कर्णाली प्रदेश बाल क्लब सञ्जालको आयोजनामा वीरेन्द्रनगरको मुख्य व्यापारिक केन्द्र घण्टाघर डबली र पिपिराचोकमा ‘खै मेरो बाल अधिकार?’ शीर्षकको नाटक प्रदर्शन गरिएको थियो। बाल अधिकारका लागि साझा अभियान (सिसिआर कर्णाली) को समन्वय तथा सहयोगमा आयोजित उक्त कार्यक्रमले स्थानीय सरोकारवाला र सर्वसाधारणको ध्यान खिचेको छ।

​बालकृष्ण सुनारको लेखन तथा निर्देशनमा तयार पारिएको नाटकमा बालअधिकारको वर्तमान अवस्था र बालबालिकाले भोग्नुपरेका चुनौतीलाई मार्मिक ढंगले चित्रण गरिएको थियो। नाटकमार्फत बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने सन्देश दिँदै उनीहरूलाई समान अवसर र सुरक्षा प्रदान गर्न समाजको हरेक तह जिम्मेवार हुनुपर्नेमा जोड दिइयो।

​सडक नाटकमा कलाकारहरू भूमिका परिवार, बेदन थापा, अर्मान हास्मि, अनुशा शाही र रुबिना विक लगायतको सशक्त र जीवन्त अभिनय रहेको थियो। नाटक हेर्न उपस्थित स्थानीय बासिन्दा र अधिकारकर्मीहरूले समाजमा व्याप्त बालश्रम र अधिकार वञ्चितीकरणका मुद्दालाई कलात्मक माध्यमबाट उठाउनु प्रभावकारी हुने प्रतिक्रिया दिएका थिए।

​समाजमा अझै पनि धेरै बालबालिका आधारभूत सेवा र सुरक्षाबाट वञ्चित रहेको अवस्थालाई मध्यनजर गर्दै यस्ता सिर्जनात्मक अभियान सञ्चालन गरिएको आयोजकले जनाएका छन्। ‘बाल अधिकार हामी सबैको सरोकार’ भन्ने नाराका साथ गरिएको यो प्रदर्शनले वीरेन्द्रनगरमा बालअधिकारको पक्षमा सकारात्मक बहस छेड्न सघाउ पुर्‍याएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार