सुर्खेत । कर्णाली प्रदेशको मौलिक कला, संस्कृति र स्थानीय कथाहरूलाई चलचित्रको माध्यमबाट विश्वबजारमा पुर्याउने उद्देश्यले ‘चौथो कर्णाली चलचित्र कार्यशाला’ आयोजना हुने भएको छ। केवी इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी वैशाख ८ देखि १३ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा यो कार्यशाला सञ्चालन हुन लागेको हो। अघिल्ला तीन संस्करणको सफलतापछि यसपटक अझ परिष्कृत रूपमा पटकथा (स्क्रिप्ट) लेखन र निर्माण प्रक्रियामा केन्द्रित रहेर प्रशिक्षण दिइने आयोजकले जनाएको छ। कार्यशालालाई स्तरीय र उपलब्धिमूलक बनाउन नेपाली चलचित्र क्षेत्रका स्थापित व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

विशिष्ट अभिनेता तथा निर्देशक दिनेश डिसीको ‘मास्टर क्लास’ कार्यशालाको मुख्य आकर्षण रहनेछ। चर्चित लेखक तथा निर्देशकशिवम अधिकारीले चलचित्रको मुटु मानिने पटकथा लेखन सम्बन्धी विशेष कक्षा लिनेछन्। ख्यातिप्राप्त छायाँकार निरज कँडेलले छायाङ्कनका प्राविधिक र प्रयोगात्मक सीप सिकाउनेछन्। फिल्म सम्पादक रूपेश मिजारले सम्पादन (एडिटिङ) को आधुनिक प्रविधिबारे प्रशिक्षण दिनेछन्।
कार्यशालामा कर्णालीका १० वटै जिल्लाबाट छनोट गरिएका २५ जना उत्साही प्रशिक्षार्थीहरूको सहभागिता रहनेछ। प्रशिक्षणका क्रममा सिकेको सीपलाई व्यवहारमा उतार्न विद्यार्थीहरूले कार्यशाला अवधिमै तीनवटा वृत्तचित्र (Documentary) र दुईवटा लघु चलचित्र (Short Film) निर्माण गर्ने कार्यक्रम रहेको छ। यसले कर्णालीमा नयाँ पुस्ताका प्राविधिक र कलाकार उत्पादनमा ठूलो टेवा पुग्ने आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काको विश्वास छ।
सहकार्य र सहयोग चलचित्र विकास बोर्डको सहकार्य तथा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको यस कार्यशालाले कर्णालीलाई ‘फिल्म सुटिङ डेस्टिनेसन’ का रूपमा चिनाउन समेत मद्दत गर्नेछ। भौगोलिक विकटताका बीच लुकेका सुन्दर कथा र दृश्यहरूलाई सिनेमाको आँखाबाट खोतल्ने यो प्रयासले कर्णालीको सांस्कृतिक पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्