२०८३ कात्तिक १६ , सोमबार
दुर्गमका सुत्केरीका लागि 'सञ्जीवनी' हवाई सेवा

रुकुम पश्चिमका दुई महिलाको सेनाद्वारा उद्धार



सुर्खेत ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरिरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत रुकुम पश्चिमका दुई जना ज्यान जोखिममा परेका महिलाको सफल हवाई उद्धार गरिएको छ। वैशाख ३ गते रुकुम पश्चिमको त्रिवेणी र मुसिकोटका दुई महिलाको अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल पुर्‍याइएको हो। स्वास्थ्य सेवाको पहुँच कमजोर भएका दुर्गम क्षेत्रका महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको भरपर्दो माध्यम बन्दै गएको छ।

मन्त्रालयका अनुसार उद्धार गरिनेहरूमा त्रिवेणी गाउँपालिका–७ की २४ वर्षीया र मुसिकोट नगरपालिका–२ की २२ वर्षीया गर्भवती/सुत्केरी महिला रहेका छन्। उनीहरू र नवजात शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि तत्काल हवाई उद्धारको प्रक्रिया अघि बढाइएको थियो। हाल उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकीय निगरानीमा उपचार भइरहेको जानकारी दिइएको छ।

नेपाली सेनासँगको सहकार्यमा दुर्गमका सुत्केरीको ज्यान जोगाउन मन्त्रालयले सञ्चालन गरेको यो हवाई सेवाले मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। विशेषगरी सडक सञ्जालले नजोडिएका वा सडक पुगे पनि लामो यात्रा गर्न नसक्ने आकस्मिक अवस्थाका बिरामीका लागि यो सेवा प्रभावकारी देखिएको छ। मन्त्रालयले आगामी दिनमा यो कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार