सुर्खेत । लोकप्रिय अभिनेता तथा मोडल पूर्णविक्रम शाह (पल शाह) ले सुर्खेतको वीरेन्द्रनगरमा अनाथ तथा असहाय बालबालिकाका लागि बालआश्रम सञ्चालनमा ल्याएका छन्। वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेमा स्थापना गरिएको उक्त आश्रमको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एक समारोहका बीच औपचारिक उद्घाटन गर्नुभयो। अभिनेता शाहको ‘हामी छौँ फाउन्डेसन’ र ‘बाबा आमा फाउन्डेसन’ को संयुक्त व्यवस्थापनमा यो परोपकारी अभियान सुरु गरिएको हो।

आश्रमले मुख्यगरी आर्थिक रूपमा विपन्न, अनाथ र पीडित बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र उचित पालनपोषणको जिम्मेवारी लिने लक्ष्य राखेको छ। फाउन्डेसनका अध्यक्ष समेत रहेका अभिनेता शाहले समाजका गरिब र निमुखा बालबालिकाहरू कोही पनि संरक्षणविहीन नहोऊन् भन्ने उद्देश्यले यो अभियानको थालनी गरेको बताउनुभयो। “हामीले एउटा सानो प्रयास सुरु गरेका छौँ, यसलाई दिगो बनाउन सबैको साथ र सहयोगको खाँचो छ,” शाहले उद्घाटन कार्यक्रममा भन्नुभयो।
अभिनेता शाहले यस्ता सामाजिक कार्यहरू निजी क्षेत्र र अभियन्ताहरूको प्रयासले मात्र पूर्ण नहुने भन्दै प्रदेश र स्थानीय सरकारबाट समेत रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ। कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले सामाजिक क्षेत्रमा कलाकारहरूको यो सक्रियता सराहनीय रहेको बताउँदै सरकारले यस्ता सकारात्मक पहलहरूलाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो। नेवारे क्षेत्रमा सञ्चालनमा आएको यो आश्रमले कर्णालीका जोखिममा परेका बालबालिकाहरूका लागि सुरक्षित आश्रयस्थल प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्