२०८३ वैशाख ५ , शनिबार
प्रदेश राजधानी संरक्षण योजना

बुलबुलेदेखि काँक्रेविहारसम्म नदी नियन्त्रण र पदमार्ग निर्माण सुरु



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको संरक्षण र पर्यटन प्रवर्द्धनलाई लक्षित गरी ‘नदी नियन्त्रण’ को कामलाई तीव्रता दिएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतका अनुसार, बुलबुले क्षेत्रको अनियन्त्रित पानीलाई व्यवस्थित गर्न विशेष गुरुयोजना अन्तर्गत निर्माण कार्य सुरु गरिएको हो। १७ करोड १५ लाख ६७ हजार रुपैयाँको लागतमा सुरु गरिएको यो आयोजनाले बुलबुलेदेखि काँक्रेविहार जङ्गलको किनारसम्म करिब एक किलोमिटर क्षेत्रलाई समेट्नेछ।

निर्देशनालयका इन्जिनियर उत्तम चौलागाईंका अनुसार २०८२ चैतदेखि काम सुरु भई २०८४ चैतसम्ममा निर्माण सम्पन्न गर्ने गरी जलजला जिपी र अभ्नेस एन्फा जेभीसँग ठेक्का सम्झौता भएको छ। सम्झौता भएको १० दिनमै निर्माण कार्यले गति लिएको छ। यो योजनाले जथाभाबी बगिरहेको पानीलाई पर्खाल लगाएर व्यवस्थापन गर्नेछ, जसका कारण वर्षायाममा किसानका खेतबारी र आसपासका बस्तीमा पानी पस्ने समस्या सधैँका लागि समाधान हुने अपेक्षा गरिएको छ। यस आयोजनाको मुख्य आकर्षण नदी नियन्त्रणसँगै पर्यटकीय पूर्वाधारको विकास पनि हो।

बुलबुलेबाट काँक्रेविहारसम्म पैदलयात्रीहरूका लागि सहज मार्ग निर्माण गरिनेछ भने सो क्षेत्रमा दुई वटा साना पुलहरू समेत बनाइनेछ। चरा र पानीको स्रोत संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख रुपैयाँ लागतमा नयाँ ताल निर्माण कार्य समेत धमाधम भइरहेको छ।  तालको वरिपरि फुटपाथ, कम्पाउन्ड वाल र नाला व्यवस्थापन गरी बुलबुलेलाई थप आकर्षक बनाइनेछ।

हाल दैनिक औसत छ सय पर्यटकले अवलोकन गर्ने बुलबुले कर्णाली आउने जो कोहीको पहिलो रोजाइमा पर्ने गरेको छ। पानीको चुहावट रोक्दै यसलाई व्यवस्थित जलाशयको रूपमा विकास गरिएपछि यहाँ आउने पर्यटकको संख्या अझै बढ्ने भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईंको विश्वास छ। राजधानीको पहिचानका रूपमा रहेका बुलबुले र काँक्रेविहारलाई यस आयोजनाले भौतिक रूपमै जोड्ने हुँदा सुर्खेतको पर्यटनमा यसले नयाँ इँटा थप्ने निश्चित छ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार