सुर्खेत जिल्लामा आगामी वैशाख आजदेखि ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सुरु भएको छ। जिल्ला आर्थिक गणना कार्यालयले ऐतिहासिक अभियानको सुरु गरेकाे हो। असार ७ गतेसम्म सञ्चालन हुने यस गणनालाई केवल तथ्याङ्क सङ्कलनको प्रक्रिया मात्र नभई राष्ट्रिय अभियानकै रूपमा सफल पार्न जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। मुलुकको अर्थतन्त्रको वास्तविक चित्र उतार्न यो गणना कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

यस पटकको गणनामा सुर्खेतभित्र सञ्चालित नेपाल औद्योगिक वर्गीकरण अनुसारका १८ विभिन्न व्यावसायिक क्षेत्रहरूलाई समेटिने भएको छ। साना किराना पसलदेखि ठुला उद्योग र यातायात क्षेत्रसम्मको तथ्याङ्क लिइने यस अभियानले सुर्खेतको आर्थिक सम्भाव्यता र चुनौतीहरूको पहिचान गर्नेछ। आर्थिक गणना अधिकारी विनोद आचार्यका अनुसार, गणकहरूले जिल्लाका हरेक व्यावसायिक प्रतिष्ठानको ढोका ढकढक्याएर त्यहाँको लगानी, उत्पादन र रोजगारीको अवस्थाबारे विवरण सङ्कलन गर्नेछन्।
गणनालाई व्यवस्थित र त्रुटिरहित बनाउन सुर्खेतमा ७ जना सुपरिवेक्षक र ५२ जना गणक गरी कुल ५९ जनाको जनशक्ति परिचालन भएका छन्। यी गणक तथा सुपरिवेक्षकहरूलाई चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिनको सघन तालिम दिएर कार्यक्षेत्रमा खटाइने कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले तथ्याङ्क सङ्कलनका क्रममा सत्य र सही विवरण उपलब्ध गराउनु हरेक नागरिक र व्यवसायीको दायित्व भएको उल्लेख गर्दै यस कार्यमा पूर्ण सहयोग गर्न अपिल गर्नुभएको छ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले व्यावसायिक क्षेत्रबाट पूर्ण सहयोगको बताए व्यवसायीहरूले राज्यले बनाउने आगामी आर्थिक नीतिका लागि सही तथ्याङ्क आधारभूत सर्त भएको भन्दै गणकलाई यथार्थ विवरण दिन आफ्ना सदस्यहरूलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्