२०८३ वैशाख ३ , बिहीबार
मेहेलकुनामा 'चन्द्र स्मृति कप'

कर्णालीकै सर्वाधिक पुरस्कार, ५ लाखका लागि १५ टिम भिड्दै



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुनामा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशि रहेको ‘चन्द्र स्मृति कप’ को सातौँ संस्करण मंगलबारदेखि भव्य रूपमा सुरु भएको छ। मेहेलकुना फुटबल क्लबको आयोजनामा सुरु भएको यस प्रतियोगितामा नेपाल प्रहरीको विभागीय टिमसहित नेपालका १५ वटा प्रतिष्ठित फुटबल क्लबहरूको सहभागिता रहेको छ। वैशाख ८ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले चन्द्र स्मृति कपलाई कर्णालीकै प्रतिष्ठित खेलकुद ब्रान्डको रूपमा अर्थ्याउनुभयो। “यो केवल खेल मात्र होइन, भेरी किनारको सुन्दर नगरीमा हुने कला र संस्कृतिको सङ्गम पनि हो,” उहाँले भन्नुभयो। उपमेयर मैना विकका अनुसार मेहेलकुनालाई व्यवस्थित बस्तीका रूपमा विकास गर्ने पूर्व माननीय चन्द्रबहादुर बुढाको योगदानलाई चिरस्थायी बनाउन हरेक नयाँ वर्षमा खेलकुद र सांस्कृतिक उत्सव आयोजना गर्ने गरिएको हो।

मेहेलकुना फुटबल क्लबका अध्यक्ष काशी थापामगरका अनुसार यस पटक फुटबलको मुख्य आकर्षणसँगै ब्याडमिन्टन प्रतियोगिता पनि समावेश गरिएको छ। ब्याडमिन्टनतर्फ १४ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्। खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधारको अझै अभाव रहेको स्वीकार्दै नगर प्रमुख पुनले यसका लागि प्रदेश र संघ सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

प्रतियोगिता अवधिभर खेल सँगसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिनेछ। जसले स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्नुका साथै दर्शकहरूलाई थप मनोरञ्जन दिने आयोजकको विश्वास छ। कर्णालीको खेलकुद पर्यटनमा यस प्रतियोगिताले महत्त्वपूर्ण इँटा थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार