२०८३ वैशाख ५ , शनिबार
ग्यास सिलिन्डर लिकहुँदा आगलागी

तीन घाइतेको सेनाको हेलिकोप्टरबाट उद्धार



सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२, छेप्कामा ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा परी गम्भीर घाइते भएका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबार बिहान १० बजे भएको आगलागीमा स्थानीय माया जैसी, रुपा जैसी र रमेश गौतम घाइते भएका थिए। उनीहरूको प्रारम्भिक उपचार नगर अस्पताल दल्लीमा गरिए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि सुर्खेतस्थित नेपाली सेनाको पश्चिम पृतनाबाट खटिएको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको हो।

बिहान १० बजे भएको आगलागीका घाइतेहरूलाई झण्डै साढे चार घण्टापछि अर्थात् दिउँसो साढे दुई बजे मात्रै थप उपचारका लागि उडाउन सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। विकट भूगोल र साधन स्रोतको अभावका कारण समयमै उद्धारमा कठिनाइ भए पनि स्थानीय प्रशासन र नेपाली सेनाको समन्वयमा उनीहरूलाई बाँकेको नेपालगन्ज नर्सिङ होम वा भेरी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ।

ग्यास लिक भएर अचानक सल्किएको आगोले स्थानीयको घर र धनमालमा समेत क्षति पुर्‍याएको छ। कर्णालीका ग्रामीण भेगमा ग्यास प्रयोगको क्रममा सुरक्षा सावधानी अपनाउन नसक्दा यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घाइतेहरूको स्वास्थ्य अवस्था हाल स्थिर रहे पनि गम्भीर जलनका कारण उनीहरूलाई विशेषज्ञ उपचारको आवश्यकता रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार