२०८३ वैशाख ५ , शनिबार
'स्कुल धेरै धाएँ, तर कक्षा थोरै पढेँ'

कर्णाली उत्सवमा उमा वादीका ‘प्रतिरोधी पाइला’



सुर्खेत । धेरैलाई उमा वादीको वाककला देख्दा उनी उच्च शिक्षा प्राप्त व्यक्ति हुन् भन्ने लाग्न सक्छ। तर, वास्तविकता उनकै शब्दमा फरक छ। “मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवनमा भोगेका पीडाको डिग्री भने अवश्य छ,” शनिबारदेखि सुर्खेतमा जारी कर्णाली उत्सवको सातौँ संस्करणमा ‘प्रतिरोधी पाइला’ सत्रमा प्रवचन दिँदै उमाले भनिन्। सुदूरपश्चिम प्रदेशसभाकी पूर्वसदस्य एवं ऐतिहासिक वादी आन्दोलनकी अगुवा उमाले आफ्नो जीवनको सङ्घर्ष र समुदायले झेल्दै आएको संरचनात्मक विभेदको ऐना देखाइन्।

सल्यानमा जन्मिएर सुदूरपश्चिमलाई कर्मथलो बनाएकी उमाले वादी समुदायको आत्मसम्मानका लागि भएको ४८ दिने ऐतिहासिक आन्दोलनलाई सम्झिइन्। उनले त्यो आन्दोलन केवल वादी जातिको मात्र नभई सम्पूर्ण नेपाली महिलाको अधिकारको लडाइँ भएको दाबी गरिन्। “आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार प्राप्त हुनु यो देशका सम्पूर्ण महिला र दलित समुदायको ठूलो उपलब्धि हो,” उनले भनिन्, “हामीले ४८ दिनसम्म सरकारसँग घुँडा धसेर लडेपछि मात्र यो सम्भव भएको हो।”

समाजमा व्याप्त जातीय विभेद कतिसम्म गहिरो छ भन्ने उदाहरण उनले आफ्नै अनुभवबाट प्रस्तुत गरिन्। प्रदेशसभा सदस्य जस्तो गरिमामय पदमा रहँदासमेत ‘वादी’ थर भएकै कारण आफूले धनगढीमा कोठा भाडामा नपाएको उनले खुलासा गरिन्। “कोठा खाली छ भन्ने घरबेटीले मेरो नाम सुन्नेबित्तिकै दिन इन्कार गर्थे,” उनले तितो अनुभव पोखिन्, “अन्त्यमा सभामुखको पहलमा एउटा सरकारी कार्यालयको कोठामा बसेर सदन धाउनुपरेको थियो।” जनप्रतिनिधिलाई समेत थरकै आधारमा डेरा नदिने समाजको संकुचित सोच अझै परिवर्तन नभएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरिन्।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार