२०८३ वैशाख ५ , शनिबार
दिउँसै जुवाको खालमा प्रहरीको छापा

डेढ लाख नगदसहित वीरेन्द्रनगरबाट ६ जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदीमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो स्थानीय ललित केसीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले छापा मारेको हो। दिउँसो करिब ३:०० बजे गरिएको उक्त कारबाहीमा जुवाको खालबाट नगद १ लाख ४७ हजार ७९० रुपैयाँ र १२ गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २७ देखि ४७ वर्षसम्मका युवा तथा प्रौढहरू छन् ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१० का २७ वर्षीय शिशिर केसी, वीरेन्द्रनगर–७ का ३० वर्षीय डिकेन्द्र थापा,वीरेन्द्रनगर–९ का ३१ वर्षीय करण गुरुङ, वीरेन्द्रनगर–१२ का ४७ वर्षीय परशुराम सोती वीरेन्द्रनगर–१२ कै ३७ वर्षीय ललित रेश्मी मगर र  वीरेन्द्रनगर–१४ का ३३ वर्षीय निर्मल न्यौपाने छन् ।  पक्राउ परेका सबै ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय सुर्खेतमा जुवातास विरुद्ध प्रहरीले निगरानी बढाएसँगै यस्ता आकस्मिक छापामार्ने कार्यलाई तीव्रता दिइएको छ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार