२०८३ वैशाख ५ , शनिबार
कर्णाली उत्सवको 'सुइना सत्र'

विकासको मूलधारका लागि सांसदहरूको सामूहिक हुटहुटी



वीरेन्द्रनगरको सिटी हलमा जारी ‘कर्णाली उत्सव’को सातौँ संस्करणको दोस्रो दिन कर्णालीबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूले एउटै स्वरमा एउटा बलियो प्रतिबद्धता जनाएका छन्— ‘कर्णाली बदल्न दलगत स्वार्थभन्दा माथि उठ्ने।’ ‘सुइना सत्र’ (सपनाको सत्र) मा सहभागी विभिन्न दलका सांसदहरूले कर्णालीको गरिबी, भूगोल र पछौटेपनलाई केन्द्रमा राख्दै सङ्घीय संसद्‌मा साझा एजेन्डाका साथ प्रस्तुत हुने अठोट गरेका हुन्। विगतमा केही पनि नभएको भन्ने भाष्यलाई चिर्दै उनीहरूले जे–जति विकास हुनुपर्ने थियो, त्यो नभएको तथ्यलाई भने मुक्तकण्ठले स्वीकार गरे।

आश्वासनका वाचाहरू र सरकारलाई दबाब

रास्वपाका सांसद रमेशकुमार सापकोटाले आफ्नो भूमिका केवल निर्वाचन क्षेत्रमा मात्र सीमित नभई समग्र कर्णालीको चित्र बदल्नमा केन्द्रित हुने बताउनुभयो। वीरेन्द्रनगरको विकास र कर्णालीको पश्चिम क्षेत्रको पछौटेपनबीचको खाडल पुर्ने सपना बुनेका सापकोटाले प्रधानमन्त्री बालेन शाहले कर्णालीमै आएर गरेका वाचाहरू पूरा गराउन सरकारलाई निरन्तर घचघच्याउने प्रतिबद्धता जनाउनुभयो। यस्तै, जाजरकोटका सांसद खड्कबहादुर बुढाले ‘सुनको थालीमा भीख माग्नुपर्ने’ विडम्बनापूर्ण अवस्थाको अन्त्यका लागि कर्णालीका जलविद्युत् आयोजना र जडीबुटीको औद्योगिकीकरणलाई संसद्‌मा प्रमुखताका साथ उठाउने दृढता व्यक्त गर्नुभयो। विशेषगरी भेरी र कर्णाली कोरिडोरको पूर्णता नै कर्णालीको समृद्धिको ढोका भएको उहाँको तर्क थियो।

सभ्यताको विरासत र पूर्वाधारको चुनौती

कर्णालीको सभ्यता नै नेपाली सभ्यताको जननी भएको दाबी गर्दै दैलेखका सांसद लक्ष्मीप्रसाद पोखरेलले इतिहासमा विराट रहेको कर्णालीलाई वर्तमानमा विपन्न देखिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। ज्वाला, कैलाश र सिँजा सभ्यताको संरक्षण गर्दै दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खननलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो। उहाँले पूर्वाधारको क्षेत्रमा केही पनि भएको छैन भन्नु गलत हुने भए पनि विकासको गति सुस्त रहेको स्वीकार गर्नुभयो। उता, नेकपाका सांसद रमेशकुमार मल्लले भने व्यवस्था परिवर्तन भए पनि भ्रष्टाचार र बेथिति बढेकोमा चिन्ता व्यक्त गर्दै गरिबीको रेखामुनि रहेको एक तिहाइ जनसङ्ख्याको जीवनस्तर उकास्ने सपनाका साथ आफू संसद्‌मा उभिएको दाबी गर्नुभयो।

नीतिगत सुधार र सामाजिक न्यायको बाटो

श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले कर्णालीको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभयो। सबै नागरिकले समान शिक्षा र स्वास्थ्य उपचार पाउने वातावरण निर्माणका लागि असल नीति निर्माणमा आफ्नो निर्णायक भूमिका रहने उहाँको भनाइ थियो। विगतमा जनताले सबै दललाई विश्वास गरेर मत दिए पनि जनअपेक्षा अनुसार काम हुन नसकेको तीतो यथार्थलाई स्वीकार गर्दै रम्तेलले अबको कार्यकालमा सामाजिक न्याय र रोजगारीको क्षेत्रमा ठोस काम गर्ने बाचा गर्नुभयो। सांसदहरूको यो सामूहिक प्रतिबद्धताले कर्णालीको विकासका लागि आगामी दिनमा सङ्घीय संसद्‌मा एउटा बलियो ‘कर्णाली लबी’ निर्माण हुने आशा जगाएको छ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार