२०८३ वैशाख ५ , शनिबार
सुर्खेतमा 'कर्णाली समृद्धि महोत्सव' को रौनक

आज शिव हमाल र बसन्त थापासहितका कलाकारले तताउनेछन् मञ्च



सुर्खेत । कर्णालीको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ वीरेन्द्रनगर–२ स्थित रेडियो नेपालको परिसरमा “कर्णाली समृद्धि महोत्सव–२०८२” भव्यताका साथ सञ्चालन भइरहेको छ। प्रदेशस्तरीय सांस्कृतिक, पर्यटन तथा कृषि–व्यापार मेलाको रूपमा आयोजना गरिएको यस महोत्सवले सुर्खेतमा ठूलो व्यापारिक र सांस्कृतिक चहलपहल ल्याएको छ। कर्णालीको मौलिक कला र सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने यो महोत्सव यतिबेला आन्तरिक पर्यटकहरूको मुख्य रोजाइ बनेको छ।

महोत्सवको आजको दिन (चैत २४ गते, शनिबार) दर्शकहरूका लागि निकै विशेष हुनेछ। आजको मञ्चमा चर्चित लोक गायक शिव हमालको विशेष प्रस्तुति रहनेछ। उहाँसँगै लोकप्रिय गायक बसन्त थापा, प्रखर गायिका शोभा त्रिपाठी, र र्यापर DNX लगायतका कलाकारहरूले साङ्गीतिक माहोललाई तताउनेछन्। साथै, चर्चित मोडल करिश्मा शाहीको आकर्षक नृत्य र उपस्थिति आजको महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

सांस्कृतिक विमर्शदेखि साहसिक पर्यटनसम्म महोत्सव केवल मनोरञ्जनमा मात्र सीमित छैन। यहाँ कर्णालीका स्थानीय खानाका स्टल, कृषि उत्पादनको प्रदर्शनी र व्यापारिक स्टलहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन्। महोत्सवमा बबई र कर्णाली नदीमा र्‍याफ्टिङ तथा प्याराग्लाइडिङको अनुभव,  बाल उद्यान, सेल्फी जोन र दैनिक सांस्कृतिक झाँकीहरू र कर्णाली चिसापानी पुल, बर्दिया राष्ट्रिय निकुञ्ज र राइफल टावर जस्ता गन्तव्यहरूको प्रचार-प्रसार गरिएकाे छ ।

 आयोजकका अनुसार यो महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा प्रत्यक्ष टेवा पुर्‍याइरहेको छ। कर्णालीको अर्गानिक उत्पादन र हस्तकलालाई एउटै थलोमा उपलब्ध गराउँदा बाह्य पर्यटकहरूलाई समेत यसले आकर्षित गरेको छ। वैशाख ७ गतेसम्म चल्ने यस महोत्सवले कर्णालीको आर्थिक गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार