सुर्खेत । कर्णालीको कला, संस्कृति, विचार र विकासका सम्भावनालाई विश्वबजारमा ब्रान्डिङ गर्ने उद्देश्यले आयोजना गरिएको ‘कर्णाली उत्सव–कुरा कर्णालीका’ को सातौँ संस्करण आज (शनिबार) देखि वीरेन्द्रनगरमा सुरु हुने भएकाे छ। चैत २८, २९ र ३० गतेसम्म चल्ने यो उत्सवले कर्णालीको पहिचान र समृद्धिको खाका कोर्न देशभरका विज्ञ, नीति-निर्माता र सर्जकहरूलाई एकै थलोमा उभ्याएको छ। आज दिउँसो १२ बजे ‘सातै धुन’ को झङ्कारसँगै उत्सवको औपचारिक उद्घाटन हुने आयोजक ऋति फाउन्डेसनले जनाएको छ।
उत्सवको सुरुवात मोहनमाया ढकालको विशेष साङ्गीतिक प्रस्तुति र ‘सात वर्ष, सात प्रयास’ शीर्षकको अडियो-भिजुअल वृत्तचित्रबाट गरिनेछ। उद्घाटन सत्रमै केशव दाहालले ‘मोक्षभूमि कर्णाली’ विषयमा विशेष प्रवचन (Keynote Speech) दिने कार्यक्रम छ भने देवेन्द्र खनालले कर्णालीमा बैंकिङ लगानीको अवस्था र चुनौतीबारे आफ्नो धारणा राख्नुहुनेछ। यी सत्रहरूले कर्णालीको ऐतिहासिक गरिमा र वर्तमान आर्थिक धरातललाई जोड्ने प्रयास गर्नेछन्।

बहसका सत्रहरू: जेनेजी पुस्तादेखि शक्तिको सोपानसम्म आजको कार्यक्रममा विभिन्न विधामा केन्द्रित रहेर गहन विमर्श हुनेछन् । जसमा जेनेजी (Gen-Z): सडकदेखि संसदसम्मकाे सत्रमा रक्षा बम, मनिष खनाल, धीरज जोशी र प्रकाश बोहराले नयाँ पुस्ताको राजनीतिक र सामाजिक प्रभावबारे बहस गर्नेछन्। शक्तिको सोपान शस्त्रमा बाँडफाँडदेखि विकाससम्म: केवलप्रसाद भण्डारीको सहजीकरणमा हुने यस सत्रमा डा. घनश्याम उपाध्याय, लक्ष्मीदेवी पाण्डे, विष्णु अधिकारी र विद्यमान विष्टले संघीयता र शक्ति सन्तुलनबारे मन्थन गर्नेछन्।
त्यस्तै सुन्ना कर्णालीका (प्याकेलो)मा जुनु हमाल ढकाल, राधिका रावत, रेश्मा कुमार मल्ल लगायतका ‘पैकेलो’ (हिरो) हरूले कर्णालीका सङ्घर्ष र सफलताका कथाहरू सुनाउनेछन् भने पोलिसिङ कर्णाली हरिराज न्यौपानेले प्रदेशको नीतिगत सुधारका पक्षमा आफ्नो प्रस्तुति दिनुहुनेछ।
साँझमा ‘कर्णाली कन्सर्ट’ हुने छ । जसमा कला र सङ्गीतको फ्युजन दिनभरिको बौद्धिक मन्थनपछि साँझ ६:३० बजेदेखि उत्सवको वातावरण साङ्गीतिक बन्नेछ। ‘कर्णाली कन्सर्ट’ मा जेडी हजर ब्याण्ड, इस्मेल सन्ज्याल, स्वारिका फ्याल र विपना सिंह लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरूले कर्णालीको माटोको सुगन्ध आउने खालका साङ्गीतिक प्रस्तुतिहरू रहेने कर्णाली उत्सवकाे संयाेजक कमलराज लम्सालले जानकारी दिए । वीरेन्द्रनगरकाे सिटीहलमा हुने उत्सवबाट विचार, कला र संस्कृतिको यो त्रिवेणीले कर्णालीको विकासमा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्