२०८३ वैशाख ५ , शनिबार
'नबिल निःशुल्क जलन उपचार शिविर'

प्रदेश अस्पतालमा निःशुल्क उपचार, विपन्नलाई विशेषज्ञ शल्यक्रियाको अवसर



सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालमा आज (चैत २७) देखि तीन दिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ भव्यताका साथ सुरु भएको छ। प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित यो शिविर २९ गतेसम्म चल्नेछ। जलनका कारण दीर्घकालीन शारीरिक र मानसिक समस्या भोगिरहेका, तर आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न नागरिकहरूलाई लक्षित गरी यो मानवीय कार्य सुरु गरिएको हो।

शिविरमार्फत करिब ५० जना जलन पीडितले प्रत्यक्ष लाभ पाउने बैंकको अपेक्षा छ। यहाँ शल्यक्रिया सम्भव नभएका जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा रिफर गरिने र त्यहाँ पनि सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालित यस अभियानलाई नबिल बैंकले लुम्बिनी र मधेश प्रदेशका विभिन्न शहरहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ। यसअघि धनगढीमा सम्पन्न पहिलो शिविरबाट ६५ जनाले सेवा पाइसकेका छन्।

शिविरमा विशेषगरी गोले पोलेर शरीरका अङ्गहरू एकआपसमा टाँसिएका वा खुम्चिएका अवस्था, ओठ तथा तालु चिरिएका (खुँडे), हातका औँलाहरू जोडिएका वा बढी भएका अवस्था र दुर्घटना वा चोटपटकका कारण अङ्गहरूको चलायमानता गुमेका समस्याहरूकाे उपचार हुने छ । नेपालमा जलनका घटनाका पीडितहरूलाई तत्काल विशेष हेरचाह आवश्यक पर्ने भए तापनि स्थानीय स्तरमा विशिष्टीकृत उपचार केन्द्रको अभाव छ। “जलनका कारण कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूको जीवनमा सुधार ल्याउनु नै यो शिविरको मुख्य उद्देश्य हो,” आयोजकको भनाइ छ। आफ्नै घरदैलोमा कीर्तिपुरका विशेषज्ञ चिकित्सकहरूबाट गुणस्तरीय सेवा पाउँदा कर्णालीका दुर्गम भेगबाट आएका बिरामी र उनीहरूका आफन्तहरूमा उत्साह छाएको छ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार