सुर्खेत । कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई विश्वसामु चिनाउने बौद्धिक उत्सव ‘कुडा कर्नालीका’को सातौँ संस्करण भोलि (शनिबार) देखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुने भएकाे छ । वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा आयोजना हुने यस तीन दिने उत्सवमा सिने क्षेत्रका महानायक राजेश हमालदेखि ‘जेनजी’ पुस्ताकी चर्चित अगुवा रक्षा बमसम्मले वक्ताका रूपमा सहभागिता जनाउने भएका छन्। आयोजक ऋति फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। आम निर्वाचनका कारण केही समय पर सरेको यो उत्सव चैत २८, २९ र ३० गते (शनिबार, आइतबार र सोमबार) सञ्चालन हुनेछ।
१५ मूल सत्र र ‘पैकेलो’का कथा: समृद्धिको सपनामाथि बहस
उत्सवका संयोजक कमलराज लम्सालका अनुसार, यस वर्ष तीन दिनको अवधिमा १५ वटा विविधतापूर्ण मूल सत्रहरू र १० वटा साना सत्रहरू समावेश गरिएका छन्। कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कार्य गरिरहेका तीन जना ‘पैकेलो’ (नायक) हरूले आफ्ना सङ्घर्ष र सफलताका गाथाहरू सुनाउने छन्। “हामी मोक्षभूमि कर्णालीको आँगनबाट ‘नारी नेतृत्व’ देखि ‘सिमान्त मान्ठ’ का स्वरहरू सुन्नेछौँ,” संयोजक लम्सालले भन्नुभयो, “विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको मार्ग प्रशस्त गर्ने हाम्रो मुख्य उद्देश्य हो।”

राजनीतिदेखि ‘रोवा रिग्पा’ सम्म: सघन विमर्शको चौतारी
यस पटकको उत्सवमा ६ वटै राष्ट्रिय दलका सांसदहरूसँगको संवाद, जेनजी पुस्ताको सडकदेखि संसद् सम्मको प्रभाव र ‘कनेक्टिङ कर्नाली’ अन्तर्गत ऊर्जा एवं प्रविधिको विकासमाथि सघन बहस हुनेछ। महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ बारे कुराकानी हुनेछ भने उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’ को समेत चर्चा गरिनेछ। ‘प्रतिरोधका पाइला’ देखि ‘कर्नालीका सुईना’ सम्मका सत्रहरूले कर्णालीको उत्तरदायी शासन र मौलिकताको उजागर गर्ने आयोजकको विश्वास छ। कर्णाली उत्सवले प्रश्न गर्ने परम्परालाई स्थापित गर्दै नागरिकमा नयाँ आशा सञ्चार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्