२०८३ वैशाख ५ , शनिबार
विद्युतीय सुरक्षा र चुहावट नियन्त्रणमा प्राधिकरणको सक्रियता

८१ हजार ग्राहकलाइ सचेतना



सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले ‘विद्युतीय खतराबाट बचौँ र बचाऔँ’ भन्ने मूल संकल्पका साथ विद्युतीय सुरक्षा दिवस २०८२ मनाएको छ। विद्युतको उपयोग जति सहज छ, यसको सानो लापरवाहीले निम्त्याउने जोखिम उत्तिकै भयावह हुने तथ्यलाई मध्यनजर गर्दै केन्द्रले बिहीबार वीरेन्द्रनगरमा प्रभातफेरि आयोजना गरेको हो। ‘विद्युत दुर्घटना संयोग होइन, सुरक्षाप्रतिको बेवास्ता हो’ जस्ता गम्भीर र चेतनामूलक नाराहरू लेखिएका प्लेकार्डसहित निस्किएको टोलीले नगरका विभिन्न चोकहरूको परिक्रमा गर्दै नागरिकलाई विद्युतीय सुरक्षाप्रति संवेदनशील रहन अपिल गरेको छ।

चुहावटको चुनौती र महसुल असुलीमा कडाइ

दिवसको अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख किरण खनालले सुर्खेतको वर्तमान विद्युतीय अवस्थाबारे महत्त्वपूर्ण तथ्याङ्कहरू सार्वजनिक गर्नुभएको छ। हाल ८१ हजार ७९४ ग्राहक रहेको सुर्खेत वितरण केन्द्रमा विद्युत चुहावट १७.८२ प्रतिशत रहेको पाइएको छ, जुन प्राविधिक र व्यवस्थापकीय दुवै दृष्टिले चुनौतीपूर्ण मानिन्छ। यसैगरी, पटक–पटकको ताकेतालाई बेवास्ता गर्दै समयमै महसुल नबुझाउने ग्राहकहरूमाथि प्राधिकरणले कडा कानुनी डण्डा चलाउन सुरु गरेको छ। महसुल बक्यौता राख्ने २७३ जना ग्राहकको लाइन काटेर कार्यालयले हालसम्म ७४ लाख ६४ हजार ७५९ रुपैयाँ असुल गरिसकेको छ।

नियमनको प्रभाव र कालो सूचीको प्रावधान

प्राधिकरणले लाइन काट्ने अभियानलाई तीव्रता दिएसँगै बक्यौता नतिर्ने सेवाग्राहीहरूको सङ्ख्यामा क्रमिक रूपमा कमी आउन थालेको छ। तर, अनुशासनहीनताको पराकाष्ठा नाघ्नेहरूका लागि प्राधिकरणले अझ कडा नीति अख्तियार गरेको छ। लाइन काटेको ६ महिनासम्म पनि सम्पर्कमा नआउने र महसुल नतिर्ने ग्राहकहरूलाई सिधै ‘कालो सूची’मा राख्ने प्रक्रिया अघि बढाइएको छ। यस्तो कदमले विद्युत महसुललाई समयमै बुझाउनुपर्ने दायित्वबोध गराउने र संस्थागत सुशासनमा मद्दत पुग्ने विश्वास केन्द्र प्रमुख खनालले व्यक्त गर्नुभएको छ।

सुधारका योजना र भावी प्राथमिकता

सुर्खेत वितरण केन्द्रले केवल दण्ड र जरिवानालाई मात्र नभई, सेवा प्रवाहको गुणस्तरलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ। केन्द्रले अहिले मिटर जडान र रिडिङ प्रणालीलाई थप व्यवस्थित बनाउनुका साथै विद्युत चोरी नियन्त्रण र वितरण लाइन विस्तारका कार्यहरूलाई योजनाबद्ध रूपमा अघि बढाएको छ। संरचना निर्माणको मापदण्ड पालना, लाइनको रुट परिवर्तन र विद्युतीय जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई केन्द्रले मुख्य कार्यसूचीमा राखेको छ। यी सुधारका प्रयासहरूले सुर्खेतको विद्युत आपूर्तिलाई सुरक्षित, भरपर्दो र चुहावटमुक्त बनाउने लक्ष्य राखेका छन्।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार