सुर्खेत । जुम्लाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेको हो। कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण भिजिटिबिलिटी कम हुँदा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय चालक शक्तिबहादुर शाहीको मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार सम्भव नभएपछि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा यो दुखद घटना घटेको हो। आफ्ना बिरामी बुबालाई बचाउने सपना बोकेर हिँडेका छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ।
दुर्घटनामा बिरामी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते भएका छन्। कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई तत्काल उद्धार गरी कालीकोट जिल्ला अस्पताल पुर्याइएको र हाल उनीहरूको त्यहीँ उपचार भइरहेको छ। कर्णालीका कठिन सडक खण्डमा प्रतिकूल मौसमका कारण हुने यस्ता दुर्घटनाले सडक सुरक्षाको चुनौतीलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ।
प्रतिक्रिया दिनुहोस्