२०८३ भदौ ३० , मंगलबार
सामाजिक सेवामा नबिल बैंक

प्रदेश अस्पतालमा निःशुल्क जलनको शल्यक्रिया शिविर



सुर्खेत । फेक्ट नेपाल र प्रदेश अस्पताल सुर्खेतको संयुक्त आयोजना तथा नबिल बैंकको सहकार्यमा भोलि (चैत २७) देखि २९ गतेसम्म प्रदेश अस्पतालमा निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदैछ। यस शिविरमा कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन तथा विशेषज्ञ डाक्टरहरूद्वारा बिरामीको जाँच र शल्यक्रिया गरिनेछ। शिविरका लागि आवश्यक बिरामी छनोट गर्ने कार्य चैत २३ गतेदेखि २६ गतेसम्म कर्णालीका विभिन्न जिल्ला र स्थानीय तहहरूमा सञ्चालन गरिएको थियो। छनोट भएका ती बिरामीहरूलाई अब तीन दिनसम्म विशेषज्ञ सेवामार्फत नयाँ जीवन दिने प्रयास गरिनेछ।

कीर्तिपुर अस्पतालका कैलाश खाकी श्रेष्ठका अनुसार, शिविरमा विशेषगरी जलन (आगोले पोलेर) का कारण शरीरको कुनै भाग खुम्चिएका, छाला टाँसिएका तथा चलायमानता गुमेका जटिल समस्या भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। जसमा ओठ तथा तालु चिरिएका (खुँडे) व्यक्तिहरू, पहिले शल्यक्रिया गरेर पनि ओठ नमिलेको वा गिजा र तालुमा प्वाल भएका बिरामीहरू र आगोले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएका जटिल बिरामीहरू। शिविरमा उपचार सम्भव नभएका अति जटिल बिरामीहरूलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिने र त्यहाँ पनि निःशुल्क उपचारको व्यवस्था मिलाइने आयोजकले जनाएको छ।

शिविरलाई प्रभावकारी बनाउन आयोजकले चैत २३ देखि २६ गतेसम्म सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालीकोट र जुम्लाका विभिन्न १८ भन्दा बढी स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा स्क्रिनिङ क्याम्प (बिरामी छनोट शिविर) सञ्चालन गरेको थियो। रुकुमको आठबिसकोटदेखि जुम्लाको सिंजा र सुर्खेतको पञ्चपुरीदेखि सिम्तासम्मका ग्रामीण भेगबाट शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई पहिचान गरिएको छ। समयमै र निःशुल्क उपचार नपाउँदा कष्टकर जीवन बिताइरहेका विपन्न नागरिकका लागि यो शिविर एउटा ठूलो अवसर बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार