सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले कर्णाली प्रदेशका रणनीतिक आयोजनाहरूलाई संघीय सरकारले उपेक्षा गरेको भन्दै तत्काल प्राथमिकतामा राख्न माग गर्नुभएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले सुर्खेत–तेलपानी सडकखण्ड अन्तर्गत रानीघाटस्थित भेरी नदीमा वर्षौँदेखि अलपत्र परेको पुल निर्माणलाई ‘युद्धस्तर’ मा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। विशेषगरी इजाजत लिएर वर्षौँदेखि ‘होल्ड’ गरिएका माथिल्लो कर्णाली, बेतन कर्णाली जलविद्युत र चौकुने सिमेन्ट कारखाना जस्ता आयोजनाहरू प्रक्रियागत अन्योलमा फसेको भन्दै उहाँले यसको अन्त्यका लागि नीतिगत स्पष्टताको माग गर्नुभयो।

सांसद सापकोटाले कर्णाली प्रदेश अस्पतालको स्तरोन्नतिको विषयलाई संसद्मा गम्भीरताका साथ उठाउनुभएको छ। सिंगो प्रदेशको भरोसाको केन्द्र मानिएको अस्पतालमा स्वीकृत दरबन्दीको आधा मात्रै जनशक्ति हुनु ‘दुखद’ रहेको उल्लेख गर्दै उहाँले तत्काल ५०० शय्याको विस्तार र पूर्ण जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग माग गर्नुभयो। साथै, चौकुनेको बिजौरा अस्पताल निर्माण र सुर्खेत–२ का ग्रामीण क्षेत्रको पूर्ण विद्युतीकरणका लागि बजेट र जनशक्ति सुनिश्चित गर्न उहाँले जोड दिनुभयो।
देशभर अलपत्र परेका विकास निर्माणका कामहरूलाई समयमै टुङ्ग्याउन एउटा ‘द्रुत न्यायिक तथा निर्णायक संयन्त्र’ निर्माण गर्नुपर्ने मौलिक प्रस्ताव सापकोटाले अघि सार्नुभएको छ। कर्णाली र भेरी करिडोरलाई प्रदेशको ‘लाइफलाइन’ को रूपमा परिभाषित गर्दै उहाँले यी मार्गहरूको पूर्वाधार निर्माणमा केन्द्र सरकारको विशेष बजेट विनियोजन हुनुपर्ने जिकिर गर्नुभयो। प्रक्रियागत विवादले गर्दा विकासका काम रोकिनु नहुने र जनताले प्रत्यक्ष लाभ पाउने गरी आयोजनाहरू अघि बढ्नुपर्ने उहाँको अडान थियो।
प्रतिक्रिया दिनुहोस्