२०८३ वैशाख ५ , शनिबार
राजनीति

“कर्णालीको ब्रान्डिङमा कूटनीतिक नियोगको भूमिका निर्णायक हुन्छ”



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको बहुआयामिक सम्भावनालाई विश्व बजारमा स्थापित गर्न परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ। परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्न समन्वयको खाँचो औँल्याउनुभयो। पर्याप्त स्रोत र सम्भावना भए पनि उचित प्रचार-प्रसार र पहुँचको अभावमा कर्णालीले विश्व बजारको ध्यान खिच्न नसकेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री कँडेलले विदेशमा रहेका नेपाली दूतावासहरू केवल प्रशासनिक काममा मात्र सीमित नभई कर्णालीका मौलिक उत्पादन र पर्यटकीय गन्तव्यको ‘मार्केटिङ’ गर्ने केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो। “हाम्रा कूटनीतिक नियोगहरूले कर्णालीका जडीबुटी, अर्गानिक कृषि उत्पादन र साहसिक पर्यटनबारे विश्वलाई जानकारी गराउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “यसले निर्यात वृद्धि र विदेशी लगानी (FDI) भित्र्याउन ठोस योगदान पुग्नेछ।” उहाँले जलस्रोत, खनिज र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत प्रष्ट पार्नुभयो।

सम्बोधनका क्रममा मुख्यमन्त्री कँडेलले विगतमा केन्द्र सरकारले कर्णालीप्रति गरेको उपेक्षा र विभेदपूर्ण व्यवहारका कारण प्रदेश विकासको दौडमा पछि परेको दाबी गर्नुभयो। अबका दिनमा कुराभन्दा पनि परिणाम दिने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। विगतको गल्ती नदोहोर्‍याउन तीनै तहका सरकारबीच बलियो सहकार्य हुनुपर्ने उहाँको तर्क थियो। कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र विज्ञहरूले कर्णालीका उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए। कूटनीतिक पहलसँगै स्थल र हवाई पहुँच विस्तार भएमा कर्णालीले आर्थिक फड्को मार्न सक्ने निष्कर्ष कार्यक्रमले निकालेको छ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार