२०८३ वैशाख ५ , शनिबार
कर्णालीमा आगामी वर्ष ६ दिन थप सार्वजनिक बिदा

साउने सङ्क्रान्तिदेखि कोजाग्रत पूर्णिमासम्म बिदाको निर्णय



सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगरमा आज बसेको बैठकले प्रदेशको मौलिक संस्कृति, भूगोल र ऐतिहासिक महत्वका दिनहरूलाई सम्मान गर्दै बिदाको नयाँ क्यालेन्डर स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार, यो निर्णयले प्रदेशका नागरिकलाई आफ्ना रैथाने पर्व र उत्सवहरू मनाउन थप सहजता प्रदान गर्नेछ।

क्षेत्रीय र प्रदेशस्तरका बिदाको वर्गीकरण सरकारले बिदाको घोषणा गर्दा भौगोलिक विशिष्टतालाई समेत ध्यान दिएको छ। मन्त्री शाहका अनुसार बिदाको वर्गीकरण गरेकाे छ । जसमध्ये चैत १२ गते (मार्सी धान दिवस) र असोज २२ गते (चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला) का लागि जुम्ला जिल्लामा मात्र सार्वजनिक बिदा हुनेछ। असार १५ को राष्ट्रिय धान दिवसमा जुम्लाबाहेक प्रदेशका अन्य ९ जिल्लामा सार्वजनिक बिदा दिइएको छ।

साउन १ गते (साउने सङ्क्रान्ति तथा देउडा पर्व), भदौ ४ गते (प्रदेश स्थापना तथा सहिद दिवस) र कात्तिक ८ गते (कोजाग्रत पूर्णिमा) का दिन १० वटै जिल्लामा पूर्ण सार्वजनिक बिदा रहनेछ। बिदाको निर्णयसँगै मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारका पक्षमा पनि महत्वपूर्ण कदम चालेको छ। बैठकले ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४’ को अनुसूची २ मा आवश्यक हेरफेर गर्ने निर्णय गरेको छ। यो संशोधनलाई आधिकारिकता दिन तत्कालै प्रदेश राजपत्रमा प्रकाशन गरिने प्रवक्ता शाहले जानकारी दिनुभयो। यस हेरफेरले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारीलाई थप स्पष्ट र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कर्णालीको विशिष्ट पहिचानलाई सरकारी क्यालेन्डरमा समेट्ने सरकारको यो प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार