२०८३ वैशाख ५ , शनिबार
चौकुनेमा बिमा सम्बन्धी बृहत् अभिमुखिकरण

स्वास्थ्य र निर्जीवन बिमाको पहुँच विस्तारमा जोड



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा नागरिकको आर्थिक सुरक्षा र स्वास्थ्य उपचारको सुनिश्चितताका लागि ‘बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय गुटुमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकले गर्नुभएको थियो। गाउँपालिकाको आयोजना तथा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय र स्वास्थ्य बिमा बोर्ड सुर्खेतको प्राविधिक सहकार्यमा सञ्चालित यस कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बिमा अभिकर्ता र स्थानीय कार्यालय प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस कार्यक्रमले बिमालाई केवल विलासिता नभई अनिवार्य आवश्यकताका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

भिमुखिकरणका क्रममा जीवन, निर्जीवन र स्वास्थ्य बिमाका विविध आयामहरूमाथि गहन छलफल भएको थियो। विज्ञ सहजकर्ता नीलप्रसाद लामिछानेले बिमाको आवश्यकता, महत्त्व र जोखिम व्यवस्थापनका प्राविधिक पक्षबारे प्रकाश पार्नुभयो। उहाँले लगानीको प्रतिफलदेखि बिमा गर्दा अपनाउनुपर्ने प्रक्रिया र सावधानीका विषयमा सहभागीहरूलाई स्पष्ट पार्नुभयो। यस्तै, स्वास्थ्य बिमा बोर्डका प्रतिनिधिले स्वास्थ्य बिमाको कानुनी व्यवस्था र सेवा उपयोगको प्रक्रियाबारे जानकारी दिँदै चौकुनेमा स्वास्थ्य बिमाको वर्तमान अवस्था अझै सन्तोषजनक नरहेको तथ्य औँल्याउनुभयो। कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य बिमाको विस्तारमा देखिएका कमजोरीहरूलाई पहिचान गर्दै यसलाई अभियानकै रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको छ।

कार्यक्रम केवल छलफलमा मात्र सीमित नभई बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन केही महत्त्वपूर्ण निर्णयहरू समेत गरिएको छ। जसअनुसार बिमा सहजकर्ताहरूलाई परिचयपत्र र आवश्यक सामग्री उपलब्ध गराउने, उनीहरूको कार्यसम्पादनको त्रैमासिक रूपमा समीक्षा गर्ने र सक्रियता बढाउनका लागि यातायात तथा खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको छ। यसले स्थानीय स्तरमा बिमा अभिकर्ताहरूलाई थप जिम्मेवार र उत्साहित बनाउने अपेक्षा गरिएको छ। चौकुनेका नागरिकलाई आर्थिक जोखिमबाट बचाउन र स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन यो अभिमुखिकरण एउटा कोसेढुङ्गा साबित हुने देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार