२०८३ वैशाख ५ , शनिबार
कर्णालीमा महिला हिंसाको भयावह रूप

एक महिनामै तीन हृदयविदारक घटना, तथ्याङ्कले देखाउँदैछ डरलाग्दो चित्र



सुर्खेत ।  कर्णाली प्रदेशमा पछिल्लो समय महिलामाथि हुने हिंसाका घटनाहरू केवल संख्यामा मात्र बढेका छैनन्, बरु यसको प्रकृति झनै क्रूर र दर्दनाक बन्दै गएको छ। पछिल्लो एक महिनाभित्र भएका तीनवटा प्रतिनिधि घटनाले यहाँको सुरक्षा र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएका छन्। फागुन २३ गते सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण भएको मृत्युको घाउ निको नहुँदै, चैत पहिलो साता गुर्भाकोटकी माया कठायतले श्रीमानको यातना सहन नसकी दुई नाबालक छोराछोरीसहित भेरीमा हाम फालेको घटना बाहिर आयो। लगत्तै चैत १५ गते कालीकोटकी मनसरा अधिकारी बुढाको आफ्नै श्रीमानबाट बञ्चरो प्रहार गरी हत्या भयो। यी घटनाहरूले कर्णालीका घरभित्रै महिलाहरू कति असुरक्षित छन् भन्ने पुष्टि गरेका छन्।

तथ्याङ्कको ऐनामा कर्णाली: हिंसाको ग्राफ उकालो लाग्दो

अधिकारवादी संस्था इन्सेक र प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले कर्णालीमा मानव अधिकार उल्लङ्घनको मुख्य सिकार महिला नै भइरहेको देखाउँछ। इन्सेकको पछिल्लो प्रतिवेदन अनुसार ६९४ मानव अधिकार उल्लङ्घनका घटनामध्ये ५३१ जना त महिला मात्रै पीडित छन्। जबरजस्ती करणीका घटनामा पनि चिन्ताजनक वृद्धि देखिएको छ; विगत तीन वर्षमा मात्रै ४९२ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। सन् २०२१ मा २७ वटा रहेको बलात्कारको संख्या सन् २०२५ मा आइपुग्दा बढेर ६४ पुग्नुले कानुनी सक्रियताका बावजुद अपराधको दर घट्नुको साटो बढ्दै गएको संकेत गर्दछ। प्रदेश प्रहरी प्रवक्ता रामप्रकाश शाहका अनुसार चालू आर्थिक वर्षको हालसम्म मात्रै १०९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भइसकेका छन्।

अदृश्य हिंसा र मिलापत्रको संस्कृति: न्यायमा मुख्य अवरोध

प्रहरी अनुसन्धानले देखाए अनुसार अधिकांश हिंसाका घटनामा पीडितले चिनेजानेका व्यक्ति, नजिकका आफन्त वा छिमेकीकै संलग्नता रहने गरेको छ। इन्सेक कर्णालीका संयोजक नारायण सुवेदीका अनुसार कारागारमा मृत्यु, पारिवारिक हत्या र धम्कीका घटनामा अघिल्लो वर्षभन्दा बढोत्तरी भएको छ। अझै पनि ग्रामीण भेगमा धेरैजसो हिंसाका घटनाहरू सामाजिक प्रतिष्ठाका नाममा ‘मिलापत्र’ मै टुङ्ग्याइने हुनाले वास्तविक तथ्याङ्क बाहिर आउन नसकेको अधिकारकर्मीहरूको दाबी छ। जबसम्म घरभित्रको हिंसालाई ‘निजी मामिला’ मान्ने सोच बदलिँदैन र अपराधीलाई राजनीतिक वा सामाजिक संरक्षण मिल्छ, तबसम्म कर्णालीका इनिशा, माया र मनसराहरूले न्यायको अनुभूति गर्न कठिन देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार