सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित यस आयोजनाले भेरीगङ्गासहित लेकबेँसी र गुर्भाकोट नगरपालिकाको फोहोरलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार, आयोजनाको भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ। हालसम्म लेकबेँसी नगरपालिकासँग फोहोर व्यवस्थापनका लागि औपचारिक सम्झौता भइसकेको छ भने गुर्भाकोटसँग समन्वय भइरहेको छ। रामजानकी सामुदायिक वनको २० रोपनी जग्गामा फैलिएको यो केन्द्रले यस क्षेत्रको वातावरणीय सरसफाइमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

उपकरण खरिदमा बजेट अभाव: नगरपालिकालाई चुनौती
भौतिक पूर्वाधार, पहुँचमार्ग र भवन निर्माणको काम सकिए पनि प्रशोधनका लागि आवश्यक मेसिनरी उपकरण खरिदमा भने वित्तीय चुनौती देखिएको छ। सुरुवाती चरणमा प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरे पनि अहिले थप उपकरणका लागि बजेट अभाव हुँदा नगरपालिका एक्लैले भार थाम्न गाह्रो भइरहेको नगरप्रमुख ढकालले बताउनुभयो। “सडक, पानी र भवन जस्ता पूर्वाधार तयार भए, तर कुहिने र नकुहिने फोहोर छुट्टाएर ग्यास तथा मल उत्पादन गर्ने मेसिन खरिदका लागि ठूलो रकम आवश्यक छ,” उहाँले भन्नुभयो। हाल नगरपालिकाले सौरव निर्माण सेवासँग करिब १ करोडको सम्झौता गरी बाँकी पूर्वाधारका काम असार १५ सम्म सक्ने गरी अघि बढाएको छ।
ग्यास र मल उत्पादन: दिगो व्यवस्थापनको मोडल
२०७९ सालमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी सुरु गरिएको यो आयोजना केवल फोहोर डम्पिङ गर्ने ठाउँ मात्र नभई ‘इनर्जी प्लान्ट’ का रूपमा विकसित गरिँदैछ। यहाँबाट जैविक फोहोर प्रयोग गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने दीर्घकालीन योजना छ। यसले एकातिर नगरको फोहोर व्यवस्थापन गर्नेछ भने अर्कोतिर उत्पादित वस्तुबाट आम्दानी गरी आयोजनालाई आत्मनिर्भर बनाउने ‘फोहोरबाट मोहर’ को अवधारणालाई सार्थक तुल्याउनेछ। प्रदेश र स्थानीय सरकारको साझेदारीमा बनेको यो केन्द्र कर्णाली प्रदेशकै लागि फोहोर व्यवस्थापनको एउटा नमूना मोडल बन्न सक्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्