सुर्खेत । सुर्खेत र अछामको सिमानामा प्रस्तावित बहुप्रतिक्षित ‘बेतन कर्णाली जलविद्युत् आयोजना’ निर्माणको औपचारिक चरणमा प्रवेश गरेको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) र आवश्यक अध्ययनका कामहरू सम्पन्न भएसँगै निर्माणपूर्वका पूर्वाधार विकासले तीव्रता पाएका हुन्। २०८२ असारमा उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस आयोजनाको विद्युत् खरिद सम्झौता (PPA) को काम समेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभएको छ। हाल मुआब्जा वितरणका लागि फाइल ऊर्जा मन्त्रालय हुँदै भूमि व्यवस्था मन्त्रालय पठाउने प्रक्रियामा छ भने प्रभावित क्षेत्रमा रुख कटानका लागि अनुमति माग्दै मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ।
पूर्वाधार विकास र प्राविधिक पक्ष: १८ किलोमिटर पहुँच सडक तयार
आयोजनाको मुख्य निर्माण कार्य सुरु गर्नुअघि गर्नुपर्ने भौतिक पूर्वाधारका कामहरू करिब अन्तिम चरणमा पुगेका छन्। आयोजना स्थलसम्म पुग्न अछामतर्फ १८ किलोमिटर पहुँच सडक निर्माण भइसकेको छ भने सुर्खेत खण्डको १४ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खुल्ने काम पूरा भएको छ। प्राविधिक रूपमा यो आयोजना निकै आकर्षक मानिएको छ, जहाँ कर्णाली नदीमा १४० मिटर अग्लो बाँध बाँधिनेछ र २१ किलोमिटर लामो विशाल जलाशय बन्नेछ। सो जलाशयबाट ६.६ किलोमिटर लामो सुरुङ र ३४५ मिटरको पेनस्टक पाइपमार्फत पानी खसालेर ४३९ मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ। आयोजनाका मुख्य संरचनाहरू सुर्खेतको चौकुने र अछामको ढकारी गाउँपालिकाको सीमा क्षेत्रमा निर्माण हुनेछन्।

लगानीको चुनौती र सञ्चयकर्ताको स्वामित्व
कुल ८८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस मेगा प्रोजेक्टमा हालसम्म कर्मचारी सञ्चय कोषको तर्फबाट ७ अर्ब रुपैयाँ मात्र सुनिश्चित भएको छ। बाँकी लगानीको स्रोत सुनिश्चित हुन बाँकी रहे पनि आयोजनालाई ‘सञ्चयकर्ता हाइड्रो’ को अवधारणा अनुरूप अघि बढाइएको छ। यसमा कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् उत्पादन कम्पनी र करिब ६ लाख सञ्चयकर्ताहरू संस्थापक रहने गरी पब्लिक कम्पनीको रूपमा संरचना तयार गरिएको छ। आयोजनाको प्रगतिबारे सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रमेश सापकोटाले समेत स्थलगत चासो देखाउँदै आयोजना प्रमुखसँग छलफल गर्नुभएको छ। लगानीको पूर्ण सुनिश्चितता र मुआब्जा वितरणको गाँठो फुक्ने बित्तिकै कर्णालीको समृद्धिको यो सपनाले मूर्तरूप पाउने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्