२०८३ वैशाख ५ , शनिबार
गौतम बन्धुहरूको एकता

सुर्खेतमा चयन भयाे रुकुम पश्चिमकाे नयाँ नेतृत्व 



सुर्खेत । एउटै मूल, एउटै पहिचान र साझा संस्कृतिमा बाँधिएका गौतम बन्धुहरू अब संस्थागत रूपमा अझ सुदृढ भएका छन्। गौतम बन्धु राष्ट्रिय समाज कर्णाली प्रदेश समन्वय समितिको सक्रिय पहलमा बिहीबार वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय भेलाले रुकुम पश्चिममा नयाँ ऊर्जाको सञ्चार गरेको छ। अत्रि गोत्रीय बन्धुहरूलाई एकसूत्रमा जोड्ने उद्देश्यले सम्पन्न यो भेला केवल नेतृत्व चयनमा मात्र सीमित नरही, भ्रातृत्व र सामाजिक एकताको नयाँ आधारशीला खडा गर्ने महत्वपूर्ण कडी बनेको छ।

नयाँ कार्यसमिति र विश्वासको कसी

लोकतान्त्रिक अभ्यास र आपसी सहमतिको सुन्दर नमुना प्रस्तुत गर्दै भेलाले ओम केसी गौतमको अध्यक्षतामा १३ सदस्यीय रुकुम पश्चिम जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा नन्दराम केसी गौतम, सचिवमा निराकरण केसी गौतम र कोषाध्यक्षमा रमा गौतमको जिम्मेवारी तय भएको छ। त्यस्तै, सदस्यहरूमा रामबहादुर केसी गौतम, नौलु जैसी गौतम, मंघलाल गौतम, समिर गौतम, झक्कु प्रसाद गौतम, जगत गौतम, षडानन्द गौतम, प्रीयराज गौतम र ईन्द्र लाल गौतम चयन भएका छन्। यसका साथै, देविलाल गौतम, भरत कुमार शर्मा गौतम र दिल बहादुर केसी गौतमलाई सल्लाहकारको भूमिकामा राखी संस्थालाई अनुभवी नेतृत्वको मार्गदर्शनसमेत सुनिश्चित गरिएको छ।

नेतृत्वको दृढता र बन्धुत्वको संकल्प

प्रदेश अध्यक्ष शिव प्रसाद गौतमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष मोहन प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले गौतम समाजको संस्थागत भविष्यबारे गम्भीर विमर्श गरेको छ। प्रमुख अतिथि मोहन प्रसाद गौतमले बन्धुहरूबीचको प्रगाढ एकता नै संस्थाको वास्तविक शक्ति भएको औँल्याउँदै नवनिर्वाचित कार्यसमितिले समाज सुधार र विकासमा कोसेढुङ्गा सावित हुने कार्य गर्ने विश्वास व्यक्त गरे। प्रदेश समन्वय समितिका सल्लाहकार संयोजक डा. दिपक गौतमको विशेष उपस्थिति रहेको सो भेलाले बन्धुत्वको दायरालाई फराकिलो बनाउने र सदस्यहरूको हकहितमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार