सुर्खेत । वीरेन्द्रनगरमा हर्षोल्लासका साथ सञ्चालन भइरहेको ‘कर्णाली समृद्धि महोत्सव-२०८२’ ले विद्यार्थीहरूको भविष्यसँग जोडिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै एक प्रशंसनीय निर्णय लिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेत र अभ्यान्ता मल्टिप्रपोज कम्पनीको संयुक्त आयोजनामा भइरहेको यस महोत्सवले भोलि चैत्र २० गतेदेखि चैत्र २६ गते बिहान ११:३० बजेसम्मका लागि आफ्ना सम्पूर्ण साङ्गीतिक प्रस्तुतिहरू स्थगित गर्ने घोषणा गरेको हो। महोत्सव आयोजक समितिका अध्यक्ष कविराज गिरी र सञ्चालक राजकुमार पौडेलद्वारा जारी विज्ञप्ति अनुसार, परीक्षा अवधिलाई शान्त र मर्यादित बनाउन तथा विद्यार्थीहरूको एकाग्रतामा सघाउ पुर्याउन यो कदम चालिएको हो।
महोत्सवका साङ्गीतिक कार्यक्रमहरू रोकिए तापनि अन्य व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरू भने सीमित रूपमा सञ्चालन हुनेछन्। वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को कार्यालयको समन्वय र शैक्षिक संवेदनशीलतालाई आत्मसाथ गर्दै आयोजकले चैत्र २६ गते दिउँसोसम्मका लागि ध्वनि विस्तारक यन्त्रहरूको प्रयोगमा पूर्ण रोक लगाएको छ। यद्यपि, महोत्सव स्थलभित्र रहेका व्यापारिक स्टलहरू, होटलहरू र बाल उद्यान भने नियमित रूपमा सञ्चालनमा रहनेछन्। विशेष कुरा त के छ भने, साङ्गीतिक कार्यक्रम स्थगित भएको यस अवधिभर (चैत्र २६ गते बिहान ११:३० सम्म) महोत्सव प्रवेशका लागि सर्वसाधारणले कुनै पनि शुल्क तिर्नु पर्ने छैन, जसले गर्दा स्थानीय उपभोक्ताहरूलाई व्यापारिक स्टलसम्म पुग्न सहज हुनेछ।

२६ गतेदेखि पुनः साङ्गीतिक रौनक र कलाकारहरूको प्रस्तुति
परीक्षाको मुख्य चाप सकिएलगत्तै चैत्र २६ गते दिउँसो ११:३० बजेपछि महोत्सवले पुनः आफ्नो साविकको भव्यता प्राप्त गर्नेछ। आयोजकका अनुसार सो समयपश्चात् राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति सुरु हुनेछ र महोत्सव प्रवेशका लागि पहिलेकै नियम अनुसार प्रवेश शुल्क लाग्नेछ। चैत्र ११ गतेदेखि सुरु भएको यो प्रादेशिक सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेलाको समापन सुरुमा चैत्र २२ गतेका लागि तय गरिए पनि यो ६ दिने अवरोधका कारण महोत्सवको समयावधि केही दिन थप हुन सक्ने सम्भावना देखिएको छ। यस निर्णयले व्यापार र मनोरञ्जनभन्दा पनि सामाजिक उत्तरदायित्व र विद्यार्थीको भविष्यलाई आयोजकले प्राथमिकता दिएको सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्