२०८३ भदौ २९ , सोमबार
कर्णाली समृद्धि महोत्सव

आज रचना रिमाल र राजन गुरुङको धमका



सुर्खेत । वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव-२०८२’ को रौनक दिनप्रतिदिन बढ्दै गएको छ। महोत्सवको १८ औँ दिन अर्थात् आज चैत्र १९ गते नेपाली साङ्गीतिक क्षेत्रका अत्यन्तै लोकप्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

चैत्र १९ गतेको प्रमुख आकर्षणका रूपमा जादुमयी स्वरकी धनी चर्चित गायिका रचना रिमाल आउने निश्चित भएको छ। ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’ लगायतका सयौँ चर्चित गीतहरू मार्फत दर्शकको मन जित्न सफल रचनाको प्रस्तुति हेर्न महोत्सवमा ठूलो संख्यामा दर्शक ओइरिने अपेक्षा गरिएको छ। रचनासँगै लोक दोहोरी क्षेत्रका चर्चित गायक राजन गुरुङले पनि आफ्नो दमदार प्रस्तुति दिनेछन्। गुरुङका मौलिक र ऊर्जावान लोक भाकाहरूमा सुर्खेतबासीले भरपुर मनोरञ्जन लिनेछन्।

महोत्सवको मञ्चमा गायिका रन्जिता विश्वकर्माको पनि सुमधुर गायकी रहनेछ। कार्यक्रमलाई चर्चित उद्घोषक माधब जोन खत्रीले आफ्नो वाककला मार्फत रोचक बनाउनेछन्। कलाकारहरूको यो लाइन-अपले भोलिको दिनलाई साङ्गीतिक रूपमा निकै विशेष बनाउने देखिएको छ।

रेडियो नेपालको प्राङ्गण, वीरेन्द्रनगर-९ मा सञ्चालन भइरहेको यो प्रादेशिक मेलामा साङ्गीतिक कार्यक्रमका साथै कर्णालीका स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटकीय क्षेत्रको प्रदर्शनीले पनि अवलोकनकर्ताहरूलाई आकर्षित गरिरहेको छ। चैत्र २२ गतेसम्म चल्ने यस महोत्सवमा भोलि विशेष कलाकारहरू आउने हुनाले आयोजकले दर्शकको सहजताका लागि सुरक्षा र बस्ने व्यवस्थामा थप ध्यान दिएको बताएको छ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार