२०८३ वैशाख ५ , शनिबार
कानुन निर्माण र जनसराेकारका मुद्दामा समितिकाे चासाे

सुरुभयो खेलकुद ऐनको प्रारम्भीक छलफल



सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति पुनः सक्रिय बन्न थालेको छ । हिउँदे अधिवेशन सम्पन्न भएको छोटो समयमै समितिले आफ्नो सक्रियता बढाएको हो ।
बुधबार मात्रै समितिल ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल गरेको छ ।
यो विधेय तीन दिन अर्थात चैत १५ गते मात्रै सभाको सातौं अधिवेशनको नवौँ बैठकले थप छलफलका लागि समितिमा पठाएको थियो । यो विधेयक माथी विभिन्न ११ जना प्रदेशसभा सदस्यहरुले संशोधन हालेको सामाजिक विकास समितिका सदस्य सचिव एवम् कर्णाली प्रदेशसभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।


संशोनकर्ता अधिकांश प्रदेशसभा सदस्यहरु गृह जिल्ला गएका कारण बैशाखको दोस्रो सातादेखि थप छलफल सुरु गर्ने समितिको कार्यतालिका छ । ‘खेलकुद विकास ऐनमा प्रारम्भीक छलफल सुरु भयो’ सूचना अधिकारी पौडेलले भने, ‘बैशाखको दोस्रो सातासम्म संशोधनकर्ता माननीयहरुसँग छलफल गर्ने तयारी छ ।’
नयाँ आर्थिक वर्षका लागि योजना तर्जुमा र अन्य काम विशेषले कर्णाली प्रदेशसभाका अधिकांश प्रदेशसभा सदस्यहरु गाउँमा पुगेका छन् । यही कारण समितिले बैशाखको दोस्रो सातासम्म संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यतालिका बनाएको हो ।
बैशाख दोस्रो साताअघि नै संशोधनकर्ताहरु प्रदेश राजधानी आएको खण्डमा भने जुनसुकै समयमा पनि समितिले खेलकुद विधेयकको छलफल अगाडि बढाउने छ ।
त्यस्तै समितिले बुधबार नै प्रदेश अस्पतालको प्रयोगशालाको विषयमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नमाथि समेत प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसँग छलफल गरेको थियो । गएको अधिवेशनमा प्रदेशसभा सदस्यहरुले प्रदेश अस्पतालको प्रयोगशालामा कार्यरत कर्मचारीहरुको मिलेमतोमा नीजि क्लिनिक र अस्पतालका ल्याप परीक्षणहरु निःशुल्क रुपमा गरिदै आएको गम्भीर आरोप लगाएका थिए । बैठकमा सहभागी मन्त्री भण्डारीले संसदमा विषय उठे जस्तो प्रदेश अस्पतालमा निजी अस्पतालबाट प्रयोगशालाको परीक्षण नभएको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार