२०८३ वैशाख ५ , शनिबार
कर्णालीमा एसईईको तयारी पूरा

भोलिदेखि परीक्षामा दिँदै छन् ३८ हजारभन्दा बढी विद्यार्थी



सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहीबारदेखि सुरु हुने यस गरिमामय परीक्षामा प्रदेशभरबाट कुल ३८ हजार ३७९ विद्यार्थीहरू सहभागी हुँदैछन्। शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार, परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर १६१ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ। यस वर्ष नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थीहरूले आफ्नो शैक्षिक क्षमताको परीक्षण दिनेछन्। गत वर्षको तुलनामा यसपटक परीक्षार्थीको संख्यामा ४६१ ले वृद्धि हुनुले प्रदेशको शैक्षिक पहुँच बिस्तारै फैलँदै गएको संकेत गर्दछ।

जिल्लागत विवरण: सुर्खेतको बाहुल्यता र डोल्पाको न्यून उपस्थिति

भौगोलिक र जनसांख्यिक हिसाबले सुर्खेत जिल्ला परीक्षार्थीको संख्यामा सबैभन्दा अगाडि देखिएको छ। सुर्खेतका ३४ परीक्षा केन्द्रहरूबाट नियमित र ग्रेड वृद्धि गरी कुल ९ हजार ७७९ विद्यार्थीहरू परीक्षामा सामेल हुनेछन्। यसको ठीक विपरित, हिमाली जिल्ला डोल्पामा सबैभन्दा कम विद्यार्थी रहेका छन्, जहाँ ४ वटा केन्द्रबाट कुल ६७४ जनाले मात्र परीक्षा दिनेछन्। अन्य जिल्लाहरूको तथ्याङ्क हेर्दा दैलेखमा ६ हजार २५३, जाजरकोटमा ४ हजार ८१३ र सल्यानमा ४ हजार १४२ विद्यार्थीहरूको सहभागिता रहनेछ। यस्तै, रुकुम पश्चिम, कालीकोट, जुम्ला, मुगु र हुम्लामा पनि सम्बन्धित परीक्षा केन्द्रहरू मार्फत हजारौँ विद्यार्थीहरूले आफ्नो भविष्यको मार्ग तय गर्ने यो परीक्षामा भाग लिँदैछन्।

तुलनात्मक विश्लेषण र व्यवस्थापकीय चुनौती

कर्णालीमा एसईई परीक्षार्थीको संख्यामा विगतका वर्षहरूमा केही उतारचढाव देखिएको छ। २०७९ सालमा ३८ हजार ९७० विद्यार्थी सहभागी भएकोमा गत वर्ष यो संख्या घटेर ३७ हजार ९११ पुगेको थियो। तर, यस वर्ष पुनः विद्यार्थी संख्यामा केही बढोत्तरी भएको छ। परीक्षार्थी संख्या बढेसँगै परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी, शान्तिपूर्ण र विश्वसनीय बनाउन शिक्षा विकास निर्देशनालय र सुरक्षा निकायले विशेष सक्रियता देखाएका छन्। परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार, दुर्गम हिमाली जिल्लादेखि सुगमका केन्द्रहरूसम्म प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याउने लगायतका प्राविधिक तयारीहरूलाई अन्तिम रूप दिइसकिएको छ, जसले गर्दा परीक्षार्थीहरूले भयरहित वातावरणमा परीक्षा दिन पाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार