२०८३ वैशाख ५ , शनिबार
सुर्खेत महाेत्सव

आज ज्योती मगर र चन्द्र शर्माको ‘धमाका’



सुर्खेत । वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव-२०८२’ ले आफ्नो १७ औँ दिनमा प्रवेश गर्दा सांगीतिक माहौललाई अझ उचाइमा पुर्‍याउने भएको छ।  आज बुधबार (चैत्र १८ गते) लोक तथा दोहोरी क्षेत्रका हस्तीहरू र चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

आजको सांगीतिक साँझको प्रमुख आकर्षणका रूपमा चर्चित एवं बहुचर्चित गायिका ज्योती मगर आउने निश्चित भएको छ। आफ्नै मौलिक गायकी र प्रस्तुति शैलीका कारण दर्शकको मन जित्न सफल ज्योती मगरका चर्चित गीतहरूमा सुर्खेतबासी झुम्ने अपेक्षा गरिएको छ।

उनीसँगै लोक दोहोरी क्षेत्रका सालिन र सुप्रसिद्ध गायक चन्द्र शर्माले पनि आफ्नो स्वर र ठट्यौली पाराको दोहोरी मार्फत महोत्सवलाई थप उल्लासमय बनाउनेछन्। शर्माको उपस्थितिले लोक गीत प्रेमीहरूका लागि भोलिको दिन विशेष हुने देखिन्छ।

महोत्सवको मञ्चमा गायक शिव संगीतले पनि आफ्नो सांगीतिक जादु छर्नेछन्। त्यस्तै, टिकटक र डान्सिङ क्षेत्रमा चर्चा बटुलेका मोडल तथा डान्सर मगर यामु १२१५ को नृत्यले युवा पुस्तालाई थप आकर्षित गर्नेछ। कार्यक्रमलाई सुप्रसिद्ध उद्घोषक माधब जोन खत्रीले सहजीकरण गर्नेछन्।

रेडियो नेपालको प्राङ्गण, वीरेन्द्रनगर-९ मा सञ्चालन भइरहेको यो प्रादेशिक सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेलामा कलाकारहरूको प्रस्तुतिसँगै स्थानीय कृषि उपज र हस्तकलाका स्टलहरूमा पनि अवलोकनकर्ताहरूको उल्लेख्य भिड लाग्ने गरेको छ। कर्णाली प्रदेशको समृद्धि र पहिचान झल्काउने उद्देश्यले आयोजित यो महोत्सव आगामी चैत्र २२ गतेसम्म चल्नेछ। बुधबार चर्चित कलाकारहरूको लाइन-अप रहेकाले आयोजकले सुरक्षा र दर्शक व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार