सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव-२०८२’ ले यतिबेला प्रदेश राजधानीको माहोल सांगीतिक र उल्लासमय बनाएको छ। प्रादेशिक सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेलाको १६ औँ दिन अर्थात् मंगलबार (चैत्र १७ गते) महोत्सवको मञ्चमा लोक तथा दोहोरी क्षेत्रका हस्तीहरूको विशेष उपस्थिति रहने भएको छ।
भोलिको सांगीतिक साँझको प्रमुख आकर्षणका रूपमा चर्चित लोक दोहोरी गायक बद्री पंगेनी आउने निश्चित भएको छ। समसामयिक सामाजिक विषयवस्तु र सन्देशमूलक लोकभाकाका पर्याय मानिने पंगेनीका ‘सधैं यस्तै कहाँ हुन्छ र’, ‘फोटो फिरिममा’ लगायतका दर्जनौँ चर्चित गीतहरूमा सुर्खेतबासी झुम्ने अपेक्षा गरिएको छ। पंगेनीसँगै सुमधुर स्वरकी धनी गायिका शान्तारानी परियारले पनि आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिनेछिन्।

महोत्सवको मञ्चमा भोलि गायक महेन्द्र बि.क. र मोडल तथा डान्सर पार्वती श्रेष्ठको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई चर्चित उद्घोषक कमल सरगमले आफ्नै मौलिक शैलीमा अगाडि बढाउनेछन्।
रेडियो नेपालको प्राङ्गण, वीरेन्द्रनगर-९ मा सञ्चालन भइरहेको यो महोत्सव केवल नाचगानमा मात्र सिमित छैन। यहाँ कर्णालीका स्थानीय उत्पादन, कृषि प्रदर्शनी र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने स्टलहरूमा पनि अवलोकनकर्ताहरूको उल्लेख्य भिड लाग्ने गरेको छ। आयोजकका अनुसार मंगलबार विशेष कलाकारहरू आउने हुनाले दर्शकको चाप बढ्न सक्ने कुरालाई ध्यानमा राख्दै सुरक्षा र व्यवस्थापनमा थप कडाइ गरिएको छ।
प्रतिक्रिया दिनुहोस्