सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणले कानुनी र सामाजिक रूपमा नयाँ मोड लिएको छ। सोमबार वीरेन्द्रनगरमा आरोपित तीन किशोरका परिवार र आफन्तहरूले विरोध र्याली र पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष छानबिनका लागि अपिल गरेका छन्। २०८२ चैत्र १६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा परिवारले प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को वैज्ञानिक अनुसन्धानलाई लत्याउँदै जिल्ला सरकारी वकिलको कार्यालयले मनोगत ढङ्गले मुद्दा दर्ता गरेको गम्भीर आरोप लगाएका छन्। सिसिटिभी फुटेज, कल डिटेल र फरेन्सिक ल्याबको रिपोर्टले किशोरहरू निर्दोष रहेको पुष्टि गर्दागर्दै पनि बाह्य दबाब र प्रभावका आधारमा उनीहरूलाई फसाउने प्रपञ्च रचिएको परिवारको जिकिर छ।

घटनाक्रमको विश्लेषण: सिसिटिभी र कल रेकर्डको आधार
विज्ञप्तिमा उल्लेख गरिए अनुसार फागुन २३ गतेको घटनाक्रमलाई समय तालिका अनुसार विश्लेषण गर्दा आरोपित किशोरहरूको संलग्नतामाथि प्रश्न उठ्ने ठाउँ देखिँदैन। बिहान ५:५८ बजे पीडित र मुख्य आरोपित भनिएका व्यक्ति सामुदायिक वनतर्फ गएको सिसिटिभीमा देखिन्छ। त्यसको साढे दुई घण्टापछि, अर्थात् ८:३२ बजे पीडितले सहयोगका लागि अर्का एक किशोरलाई फोन गरेको तर ती किशोरसँग सवारी साधन नभएकाले तत्काल जान नसकेको प्रमाण सुरक्षित रहेको दाबी गरिएको छ। पोस्टमार्टम रिपोर्टले बिहान ९:३० बजे नै मृत्यु भइसकेको देखाएको र किशोरहरू त्यसपछि मात्र घटनास्थल पुगेर प्रहरीलाई खबर गरेको अवस्थामा, उनीहरूलाई नै ‘सामूहिक बलात्कार’ र ‘ज्यान मार्ने उद्योग’को मुद्दा चलाउनु न्यायसंगत नभएको पीडित परिवारको तर्क छ।

सामाजिक सञ्जालको दुरुपयोग र चरित्र हत्याको प्रयास
यस संवेदनशील घटनालाई लिएर समाजमा जातीय र साम्प्रदायिक विद्वेष फैलाउने तत्वहरू सक्रिय रहेको भन्दै आरोपितका परिवारले गम्भीर चिन्ता व्यक्त गरेका छन्। केही युट्युबर र ‘सामाजिक अभियन्ता’ भनिने व्यक्तिहरूले आफ्नो टीआरपी (TRP) बढाउनकै लागि घटनालाई अतिरञ्जित गरेको र निर्दोष बालकहरूको भविष्यमाथि खेलबाड गरेको उनीहरूको भनाइ छ। “दोषीले सजाय पाउनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ, तर बिना प्रमाण कसैको चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन,” विज्ञप्तिमा भनिएको छ। वर्तमान सरकार र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै उनीहरूले न्यायिक प्रक्रियालाई प्रभावमुक्त बनाउन र अध्ययनरत किशोरहरूको भविष्य बचाउन जोडदार माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्