सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको हो ।
बैठकमा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ्गले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको जानकारी पत्र पढेर सुनाएकी थिइन् ।

हिउँदो अधिवेशनलाई कानुन बनाउने अर्थात विधेयक अधिवेशनका रुपमा समेत लिने गरिन्छ । तर यो अधिवेशनमा कर्णाली प्रदेश सभाले जम्मा दुई वटा मात्रै विधेयक पारित गरेको छ । प्रदेशसभाले कर्णालीप्रदेश प्रज्ञा प्रतिष्ठान र प्रदेश ऐनलाई संशोधनगर्न बनेको विधेयकपारित गरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै यही अधिवेशनमा प्रदेशसभामा टेबुल भएको कर्णाली प्रदेश खेलकुद विधेयक भने समितिमा पठाइएको छ । बैठकमा दफावार छलफलपछि थप छलफलका लागि सामाजिक विकास समितिमा पठाएको सूचना अधिकारी पौडेलले जानकारी दिए । अधिवेशमा जम्मा दश वटा मात्रै बैठक बसेका थिए । हिउँदे अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्