सुर्खेत । इनिसा विकको मृत्यु प्रकरणको फाइल अदालतमा पुगेको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेत जिल्ला अदालतमा फाइल पेश गरेको हो ।
सरकारी वकिलको कार्यालयले आरोपी चारै जना नाबालकलाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग पत्र पेश गरेको हो । सामूहिक बलात्कारको हकमा जनही १० देखि १२ बर्ष कैद र क्षतिपूर्ति बाफत पाँच लाख रुपैयाँ दाबी गरिएको छ । त्यस्तै ज्यान मार्ने उद्योगमा भने चारै जनालाई आजिवन जन्मकैन माग दाबी गरिएको छ । तर नाबालक भएका कारण कुल सजायको दुई तिहाइ मात्रै सजाइ माग गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेत जिल्ला अदालतमा पेश गरेको अभियोग पत्र ।
मुद्धा दायर गर्दा प्रमाणका रूपमा सरकारी पक्षले विभिन्न प्राविधिक र भौतिक तथ्यहरूलाई पेस गरेको छ । घटनास्थलको मुचुल्का, मृतकको पोष्टमार्टम रिपोर्ट र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रयोगशाला परीक्षण प्रतिवेदनलाई मुख्य आधार बनाइएको छ ।
पोष्टमार्टम रिपोर्टले मृतकको शरीरमा देखिएका चोटपटक र मृत्युको प्रकृतिले घटना स्वाभाविक नभई हत्या भएको सङ्केत गरेको अभियोग पत्रमा उल्लेख छ । साथै, घटनास्थलबाट बरामद गरिएका दसीका सामानहरू र अभियुक्तहरूको मोबाइल फोनको डिजिटल फरेन्सिक विश्लेषणबाट प्राप्त कल डिटेल र म्यासेजहरूलाई पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।
यसबाहेक, घटनाको समयमा अभियुक्तहरूको उपस्थिति र उनीहरूले दिएको बयानमा देखिएको विरोधाभासलाई पनि अभियोगको बलियो आधार मानिएको छ । जाहेरवालाका तर्फबाट पेश गरिएका प्रमाण र घटनाको गम्भीरतालाई मध्यनजर गर्दै, पीडित पक्षले दोषीलाई कडा भन्दा कडा सजाय र उचित क्षतिपूर्तिको समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्