सुर्खेत । इनिस विककाे मृत्युकाे कारण यौनाङ्गमा गहिरो चोट र अत्यधिक रक्तश्राव भएकाे पाेष्टमार्टम रिपाेटले देखाएकाे छ । जिल्ला सरकारी वकिलकाे कार्यालयले सुर्खेत जिल्ला अदालतमा पेश गरेकाे विवरण शव परीक्षण (पोस्टमार्टम) रिपोर्टले उनको मृत्युकाे कारण यौनाङ्गमा गहिरो चोट र अत्यधिक रक्तश्राव पुष्टि गरेको हाे। फरेन्सिक विज्ञहरूको सूक्ष्म विश्लेषणका अनुसार, उनको मृत्युको मुख्य कारण याैन सम्पर्कका क्रममा लागेको गम्भीर चोट र त्यसबाट भएको अनियन्त्रित रक्तश्राव भएकाे उल्लेख छ ।
शव परीक्षणका क्रममा मृतकको शरीरका विभिन्न भागमा बाहिरी चोटहरू पाइएका छन्। रिपोर्टका अनुसार उनको ढाडको माथिल्लो र मध्य भागमा खैरो-रातो रङ्गका ठूला नीलडामहरू देखिएका छन्। विशेषगरी देब्रे गोलीगाँठो र दाहिने खुट्टाको तल्लो भागमा समेत लामो आकारका रगताम्मे चोटहरू फेला परेका छन्।
चिकित्सकहरूले यी चोटहरूलाई ‘पेरि-मार्टम’ (Peri-mortem) को रूपमा परिभाषित गरेका छन्, जसको अर्थ यी चोटहरू मृत्यु हुनुभन्दा ठीक अगाडि वा मृत्युको समयमा संघर्ष गर्दा लागेका हुन्। यसले के संकेत गर्छ भने, मृत्यु हुनुअघि उनले ठूलो शारीरिक हिंसाको सामना गर्नुपरेको थियो।


जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले सुर्खेत जिल्ला अदालतमा पेश गरेको पाेष्टमार्टम रिपाेटकाे अंश
रिपोर्टको सबैभन्दा विचलित बनाउने पक्ष यौनाङ्गको अवस्था हो। पोस्टमार्टमले योनी झिल्ली (Hymen) गहिरोसँग च्यातिएको पाइएको छ। विशेष ‘पेल्भिक डिसेक्सन’ (Pelvic Dissection) विधिबाट गरिएको आन्तरिक परीक्षणमा योनीको भित्री भित्तामा ३ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडा भएको अत्यन्तै गहिरो घाउ (Deep Laceration) फेला परेको छ। यो चोट पाठेघरको मुखभन्दा केही तलसम्म पुगेको छ, जसले उक्त समयमा भएको अवस्थालाई दर्शाउँछ।
पोस्टमार्टम रिपोर्टले मृत्युको अन्तिम निष्कर्ष दिँदै भनेको छ “Exsanguinations Secondary to Genital Injuries”। अर्थात्, यौनाङ्गमा लागेका ती गम्भीर र साङ्घातिक चोटहरूका कारण शरीरबाट यति धेरै रगत बग्यो कि अन्ततः त्यसैका कारण उनको ज्यान गयो।
रिपोर्टमा यो पनि स्पष्ट पारिएको छ कि यी चोटहरू भर्खरै भएको यौन सम्पर्कका कारण भएका हुन्। रगत धेरै बगेका कारण शरीरका अन्य भित्री अंगहरू समेत फुस्रा (Pale) देखिएका छन्।
प्रतिक्रिया दिनुहोस्