सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीविरुद्ध सुर्खेतमा दुवै दलले संयुक्त मोर्चाबन्दी गरेका छन्। एमाले र कांग्रेस सुर्खेतले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई गैरकानुनी र राजनीतिक प्रतिशोधको पराकाष्ठा भनेका छन्। पक्राउ परेका दुवै नेता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री जस्तो जिम्मेवार ओहोदा सम्हालिसकेका व्यक्तित्व हुन्। सुर्खेतका दुवै दलले संयुक्त विज्ञप्ति मार्फत यो गिरफ्तारीको घोर निन्दा र भर्त्सना गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा जाँचबुझ आयोगको प्रतिवेदनलाई हतियार बनाएर नेताहरू समात्नु पूर्वाग्रही रहेको उनीहरूको ठहर छ। कांग्रेस-एमालेले यो कदमलाई लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनमाथिको नाङ्गो हस्तक्षेप भनेका छन्।
सरकारले बनाएको जाँचबुझ आयोगको गठनदेखि प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियासम्मै अपारदर्शी रहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ कि यो आयोग न्यायिक नभई एउटा निश्चित समूहको स्वार्थ पूर्ति गर्ने गरी सञ्चालित देखिएको छ। आयोगले आफ्नो कार्यक्षेत्र नाघेर राजनीतिक र संवैधानिक विषयमा टिप्पणी गरेकोमा दुवै दलले कडा आपत्ति जनाएका छन्। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत आयोगको प्रयोग हुनुले यसको निष्पक्षतामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ। बिना कुनै निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रिया केवल प्रतिशोध साध्न नेताहरूलाई पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको उनीहरूको दाबी छ।

आन्दोलित बनेका दुवै दलले सरकारसमक्ष तत्काल सम्बोधन हुनुपर्ने गरी चार बुँदे माग अघि सारेका छन्। पहिलो मागमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई विनासर्त तत्काल रिहा गर्न भनिएको छ। दोस्रो मागमा पूर्वाग्रह राखेर तयार पारिएको विवादास्पद जाँचबुझ आयोगको प्रतिवेदन खारेजीको कुरा उठाइको छ। तेस्रो मागका रूपमा भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि नयाँ र विश्वसनीय आयोग गठन हुनुपर्ने उल्लेख छ। अन्तिम बुँदामा सोही मितिको प्रदर्शनका क्रममा भएका वास्तविक दोषीहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ। सरकारले यी मागहरू बेवास्ता गरे सुर्खेतबाटै सशक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस्