सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले नियन्त्रणमा लिएपछि त्यसको राप कर्णालीको राजधानी सुर्खेतसम्म आइपुगेको छ। गिरफ्तारीको विरोधमा शनिबार वीरेन्द्रनगरमा एमालेका नेता, कार्यकर्ता र जनवर्गीय संगठनहरूले सडकमा उत्रिएर सरकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन्। यो प्रदर्शनले सुर्खेतको राजनीतिक वातावरणलाई निकै तताएको छ।

सुर्खेतमाप्रदर्शनकारीहरूले “अध्यक्ष ओलीलाई तत्काल रिहा गर”, “राजनीतिक प्रतिशोध बन्द गर” र “निरंकुश सरकार मुर्दावाद” जस्ता नाराहरू लगाएका थिए। उनीहरूले एमाले सुर्खेतले अध्यक्ष ओलीलाई बिनासर्त तत्काल रिहा नगरे आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउने चेतावनी दिएको छ।
सुर्खेतमा शान्तिपूर्ण प्रदर्शन भइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने स्थिति तनावपूर्ण बनेको छ । उता काठमाडौँमा एमालेका विभिन्न भ्रातृ संगठनहरूले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको छ। प्रहरीले बल प्रयोग गरेर आन्दोलन दबाउन खोजेको भन्दै एमालेले सरकारको ‘दमनकारी’ नीतिको कडा आलोचना गरेको छ।

एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीलाई विशुद्ध ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएको छ। सरकारले आफ्ना कमजोरी लुकाउन र प्रमुख प्रतिपक्षी दलको मनोबल गिराउन यस्तो अलोकतान्त्रिक कदम चालेको एमाले नेताहरूको ठहर छ।
प्रतिक्रिया दिनुहोस्