सुर्खेत । र्खेतको वीरेन्द्रनगरमा जारी ‘कर्णाली समृद्धि महोत्सव २०८२’ मा साङ्गीतिक माहोल दिन प्रतिदिन चुलिँदो छ। महोत्सवको चौथो दिन अर्थात् आज चैत १४ गते शनिबार, नेपाली मनोरञ्जन र साङ्गीतिक जगत्का धुरन्धर कलाकारहरूले वीरेन्द्रनगरको मञ्च तताउँदै छन्।
अव्यन्ता मल्टि-प्रपोज प्रालि र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुर्खेतको आयोजनामा रेडियो नेपालको परिसर (वीरेन्द्रनगर–१) मा भइरहेको यो महोत्सवमा आजको साङ्गीतिक साँझलाई ‘विशेष उत्सव’ को रूपमा हेरिएको छ।

शनिबारको बिदाको दिन पारेर महोत्सवमा दर्शकलाई झुमाउन र मनोरञ्जन दिलाउन नेपाली लोकदोहोरी भिडियोकी ‘क्वीन’ अन्जली अधिकारीको धमाकेदार नृत्य प्रस्तुति आजको महोत्सवको मुख्य आकर्षण रहनेछ। उनीसँगै मञ्चमा रमाउन आज सुर्खेतबासी आतुर छन्। पछिल्लो समयकी सर्वाधिक चर्चित र रुचाइएकी गायिका समिक्षा अधिकारीको सुमधुर स्वरमा झुम्न दर्शकको बाक्लो उपस्थिति रहने आयोजकले जनाएकाे छ । र्याप सङ्गीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका र्यापर भिवमाको युनिक र ऊर्जाशील प्रस्तुतिले पनि आजको महोत्सवलाई थप उचाइ दिनेछ। त्यस्तै लोक तथा दोहोरी क्षेत्रका उदयमान गायक बिनय कार्कीले आफ्ना सुमधुर मौलिक भाकाहरू मार्फत दर्शकलाई रमाउनेछन्। बहुप्रतिभाशाली कलाकार राजेश भण्डारीले आफ्नो उद्घोषण र प्रस्तुतिले मञ्चको रौनक बढाउनेछन्।
महोत्सवलाई सभ्य र भव्य बनाउन अव्यन्ता मल्टि-प्रपोज प्रालि र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुर्खेतले कडा मेहनत गरिरहेका छन्। साथै, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगर कृषि शाखा जस्ता संस्थाहरूले पनि यसलाई सफल बनाउन सहकार्य गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्