सुर्खेत । प्रदेश अस्पतालले जटिल मानिने ‘कृत्रिम घुँडा प्रत्यारोपण’ (Knee Replacement) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। प्रदेश अस्पतालका चिकित्सकहरूले कम्मरको जोर्नी खिइएर दैनिक क्रियाकलाप गर्न समेत सास्ती भोगिरहेका बिरामीहरूको पाँचौँ पटक सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । प्रदेश अस्पतालका चिकित्सक पदम गिरीका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक गरिएको यो जटिल शल्यक्रिया गरिएकाे हाे । याेसँगै चिकित्सा सेवालाई नयाँ उचाइमा पुर्याएको छ। यसले कर्णालीको स्वास्थ्य क्षेत्रमा एउटा सुखद र गर्विलो अध्याय थपिएको चिकित्सककाे भनाइ छ। दक्ष जनशक्ति टिकाइ रहने र उपकरणकाे दीर्घकालीन प्रयाेग गर्न सकेकाे खण्डमा अब जटिल हाडजोर्नी सम्बन्धी उपचारका लागि काठमाडौँ वा छिमेकी मुलुक धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ । याे सेवा लामो समयदेखि घुँडा खिइएर हिँडडुल गर्न अक्षम बिरामीका लागि यो सेवा वरदान सावित हुने छ।

अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको टोलीले प्रदेशमै पहिलो पटक कृत्रिम घुँडा सफल प्रत्यारोपण गरेर कर्णालीको स्वास्थ्य सेवामा एउटा नयाँ रेकर्ड कायम गरेको छ। यसैगरी, अस्पतालले कम्मरको जोर्नी (Hip Joint) खिइएका बिरामीहरूको पनि सफल उपचार गरिरहेको छ । हिँडडुल गर्न र सामान्य काम गर्न नसक्ने अवस्थाका बिरामीहरू अब नयाँ जीवन पाए झैँ सक्रिय हुन थालेका छन्।

हाडजोर्नी खिइएर वा अन्य जटिल समस्याका कारण कष्टकर जीवन बिताइरहेका नागरिकहरूलाई अब आफ्नै आँगनमा रहेको प्रदेश अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ। दक्ष जनशक्ति र सुलभ खर्चमा हुने यस्तो जटिल उपचारले विपन्न नागरिकहरूलाई ठूलो राहत पुग्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्