नेपाली राजनीतिमा एउटा नयाँ र समावेशी इतिहास रचिएको छ। दलित समुदायभित्र पनि सामाजिक र आर्थिक रूपमा निकै पछाडि पारिएको बादी समुदायले पहिलो पटक सङ्घीय संसद्मा आफ्नो ओझिलो प्रतिनिधित्व पाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी सीता बादी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेसँगै एउटा उत्पीडित समुदायको आवाज अब सिधै राज्यको मूल थलोमा गुञ्जिने भएको छ।
सीताको यो यात्रा केवल एउटा पद प्राप्ति मात्र होइन, यो त सदियौँदेखिको विभेद र अभाव विरुद्धको एउटा जीवित विद्रोह हो। २०५२ भदौ २३ गते वीरेन्द्रनगर–११, नयाँगाउँमा जन्मिएकी सीताको बाल्यकाल झुप्राखोला र भेरी नदीका किनारहरूमा वित्यो। अधिकांश बादी परिवार जस्तै उनको परिवार पनि भूमिहीन थियो। बिहान-बेलुकाको छाक टार्न उनका आमाबुबा खोलामा बालुवा चाल्थे। सीताले पनि कलिलो उमेरमै बुबाआमासँगै बालुवा चालेर जीवनको कठोर यथार्थ बुझिन्। भेरीगङ्गाको सत्तरीमा प्राथमिक शिक्षा लिँदा उनलाई विद्यालय पुग्नै दैनिक दुई घण्टा पैदल हिँड्नुपथ्र्यो। पारिवारिक आर्थिक अवस्थाले शिक्षामा अवरोध पुर्याए पनि उनको पढ्ने इच्छा कहिल्यै मरेन।

१३ वर्षको उमेरमा एउटा संस्थाको सहयोगमा अध्ययनका लागि काठमाडौँ पुगेपछि सीताको जीवनले नयाँ मोड लियो। त्यहाँ उनले अक्षर मात्र चिनिनन्, बरु आत्मसम्मान र अधिकारका लागि लड्नुपर्छ भन्ने चेतना समेत पाइन्। विभिन्न सङ्घसंस्थामा काम गरेको अनुभवले उनलाई सामाजिक मुद्दाहरूसँग नजिक गरायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई समानुपातिक सूचीमा राखेपछि र पार्टीले उल्लेख्य सफलता पाएपछि सीताको संसदीय यात्रा सुनिश्चित भयो। संसद्मा उनको प्राथमिकता स्पष्ट छ । अधिकांश बादी समुदाय अझै पनि भूमिहीन र घरबारविहीन छन्। उनीहरूलाई व्यवस्थित बसोबास र जग्गाको स्वामित्व दिलाउन नीतिगत पहल गर्ने, समाजले बादी समुदायलाई हेर्ने दृष्टिकोण अझै पुरातनवादी छ। यस विरुद्ध स्पष्ट कानुन र सामाजिक चेतनाका कार्यक्रम ल्याउने र आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यबाट वञ्चित बादी बालबालिकाका लागि विशेष छात्रवृत्ति र सहुलियतको व्यवस्था गर्ने अठाेट छ ।

आफ्नो पार्टी सरकारमा रहेको र दुई तिहाइ बहुमतको शक्ति भएकाले दलित र बादी समुदायको हितमा ठूला काम गर्न सकिनेमा सीता विश्वस्त छिन्। उनी भन्छिन्, “म संसद्मा पुगेर केवल भत्ता खाने छैन, बरु मेरो समुदायको चेतनास्तर र आर्थिक अवस्था सुधार्न सरकारलाई निरन्तर झकझक्याइरहने छु।” भ्रष्टचारको अन्त्य, सुशासन, महिला सशक्तीकरण र बाल संरक्षण नै उनको राजनीतिको मूल मन्त्र हुनेछ।
प्रतिक्रिया दिनुहोस्