२०८३ वैशाख ३ , बिहीबार
विद्यार्थी पढाउँदै प्रहरी

बाल हिंसाबारे सचेतना फैलाउँदै, सेवा प्रवाहकाे जानकारी बाँढ्दै



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पढाउन थालेको छ । प्रहरीसँग एक दिन कार्यक्रम नै गरेर प्रहरीले विद्यार्थीलाई पढाउने थालेको हो । बालबालिकामाथि हुने हिंसा सम्बन्धी ज्ञान दिन र प्रहरी कार्यालयले दिने सेवा प्रवाह सम्बन्धी जानकारी दिने उद्देश्यले प्रहरीले विद्यार्थीहरु पढाउन थालेको हो । विद्यालय तहकै बालबालिकामाथि बढी हिंसा हुने र त्यसले बालअधिकारको कार्यान्वयनमा असर पर्ने भन्दै प्रहरीले बालहिंसा सम्बन्धी विद्यार्थीलाई पढाउन सुरु गरेको हो ।


शुक्रबार मात्रैे प्रहरीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुराका विद्यार्थीहरुलाई बालबालिका माथि हुने हिंसा र प्रहरी कार्यालयबाट सेवाग्राहीलाई दिइने सेवा प्रवाहसहित प्रहरीको काम कारबाही सम्बन्धी पढाएको छ । विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको कार्यालय परिसरमा आएका शिक्षक र विद्यार्थीलाई प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा सहितको प्रहरी कर्मचारीले यस्तो शिक्षा पढाएका हुन् । कक्षा ८, ९ र १० का विद्यार्थीहरुले प्रहरी कार्यालयका सम्पूर्ण शाखाहरुको अनुगमन समेत गरेका छन् ।


विद्यालय उमेर समूहका बालबालिकालाई बाल हिंसा सम्बन्धी ज्ञान दिएमा समुदायमा बालहिंसा घट्ने र बालबालिकाहरु आफ्नो अधिकारप्रति सचेत हुने प्रहरीको विश्वास छ । बाल हिंसा सम्बन्धी ज्ञान पाएकाहरुले गाउँ समाजमा बाल हिंसा हुन नदिने र भएको खण्डमा न्याय माग्ने वातावरणको सिर्जना हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार