नेपाली खेलकुदलाई केवल मैदानको खेलमा मात्र सीमित नराखी यसलाई व्यावसायिक उचाइ र आधुनिक व्यवस्थापनसँग जोड्ने एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ रविन्द्र चन्द ठकुरी। कर्णाली प्रदेशको दैलेख (चौराठा) मा जन्मिएर हाल सुर्खेतको वीरेन्द्रनगर–७ लाई आफ्नो कर्मथलो बनाउनुभएका ठकुरीले खेलकुद प्रशासन, बजारीकरण र प्रशिक्षणको त्रिवेणीका रूपमा आफूलाई उभ्याउनुभएको छ।

ठकुरीको सफलताको जग उहाँको बलियो शैक्षिक पृष्ठभूमि हो। त्रिभुवन विश्वविद्यालय (शंकरदेव क्याम्पस) बाट व्यवसाय प्रशासनमा स्नातक (BBA) र ‘डन बास्को’ बाट मार्केटिङ तथा ब्रान्डिङमा स्नातकोत्तर (MBA) सम्पन्न गर्नुभएको छ। खेलको ‘मर्म’ बुझ्न उनले एएफसी (AFC) को ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय खेल व्यवस्थापन कार्यशालाहरूमा सक्रिय सहभागिता जनाउनुभएको छ।
हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत ठकुरीले संघभित्र ‘बौद्धिक र व्यावसायिक’ नेतृत्वको पहिचान बनाउनुभएको छ। उहाँले एन्फाको ‘कमर्सियल, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति’को संयोजक र ‘दीर्घकालीन रणनीतिक योजना’ समितिको सदस्यका रूपमा फुटबलको आर्थिक र प्राविधिक विकासमा ठोस योगदान दिनुभएको छ। सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा ‘भेन्यु म्यानेजर’ र कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘मार्केटिङ संयोजक’ का रूपमा उहाँको व्यवस्थापकीय कौशल प्रमाणित भइसकेको छ। साथै, विश्वकप छनोट र एएफसी च्यालेन्ज लिग जस्ता ठूला प्रतियोगितामा उहाँले ‘स्थानीय आयोजक समिति’ (LOC) को महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ।
ठकुरीको सबैभन्दा ठूलो उपलब्धि आरसी३२ (RC32) फुटबल एकेडेमी “रारा रेन्जर्स” को स्थापना र यसको सफलता हो। यो एकेडेमी कर्णाली र समग्र पश्चिम नेपालकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल पिरामिड पार गर्दै ‘बी’ डिभिजनमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। सन् २०१५ देखि उनी एक सफल इभेन्ट कन्सल्टेन्टको रूपमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।

प्रशासकीय कुर्सीमा बस्नुअघि ठकुरी मैदानका ‘च्याम्पियन’ हुनुहुन्थ्यो। उहाँले क्रिकेटमा यू–१५, यू–१९ र सिनियर टोलीबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसक्नुभएको छ भने छैटौँ राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा मैदान उत्रिनुभएको थियो। शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उनले आफ्नो नेतृत्वमा उत्कृष्ट नतिजा दिलाउनुभएको थियो। उही कुशल दक्षताकै कारण अाज कर्णाली प्रदेश सरकारले समग्र कर्णालीकाे खेलकुदकाे जिम्मा रविन्द्रकाे काँधमा सुम्पिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्