२०८३ वैशाख ३ , बिहीबार
प्रदेश खेलकुद विकास

सदस्य सचिवमा चन्द्र, उपाध्यक्षमा हमाल



सुर्खेत ।  कर्णाली प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ उचाइ र व्यावसायिकता दिने लक्ष्यका साथ प्रदेश सरकारले रविन्द्र चन्द ठकुरीलाई ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्’ को सदस्य-सचिवमा नियुक्त गरेको छ। बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुभवी खेल प्रशासक चन्दलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। यो नियुक्तिसँगै कर्णालीको खेलकुद विकासमा एक ‘भिजनरी’ नेतृत्वको आगमन भएको विश्वास गरिएको छ।

सदस्य-सचिव चयनका लागि सरकारले अपनाएको प्रक्रिया निकै पारदर्शी र प्रतिस्पर्धात्मक देखिन्छ ।  सुरुमा २१ जनाले आवेदन दिएकोमा १० जनालाई कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। छनोट समितिको मूल्याङ्कनमा चन्दले सर्वाधिक ६७.१७ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अङ्क प्राप्त गरेका थिए।  समितिले सिफारिस गरेका उत्कृष्ट तीन जनामध्येबाट मन्त्रिपरिषद्ले सर्वाधिक अङ्क ल्याउने चन्दलाई नै चयन गरेको सरकारका प्रवक्ता एवं कृषि मन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो।

यस्तै परिषद्लाई पूर्णता दिने क्रममा सरकारले अन्य पदाधिकारी र सदस्यहरूको समेत टुङ्गो लगाएको छ । समितकाे उपाध्यक्षमा वीरेन्द्रनगर–५, सुर्खेतका प्रमोद हमाल उपाध्यक्षमा नियुक्त हुनुभएको छ। उहाँ यसअघि पनि साेही पदमा कार्यरत हुनुहुन्थ्याे ।

यस्तै सदस्यहरूमा पंखबहादुर मल्ल (खाँडाचक्र–७, कालीकोट), भीमकुमारी भुसाल (वीरेन्द्रनगर–३, सुर्खेत), गोर्खबहादुर शाही (चंखेली–४, हुम्ला), पवनकुमार थापा (दुल्लु–८, दैलेख), किरणकिशोर सापकोटा (वीरेन्द्रनगर–४, सुर्खेत) नियुक्त भएका छन् ।

नवनियुक्त सदस्य-सचिव रविन्द्र चन्दसँग एन्फाको केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल व्यवस्थापन र ‘आरसी३२’ जस्तो सफल फुटबल एकेडेमी चलाएको लामो अनुभव छ। उहाँको यो अनुभवले कर्णालीमा खेलकुद पूर्वाधार निर्माण, खेलाडीहरूको वृत्तिविकास र १०औँ राष्ट्रिय खेलकुदको भव्य आयोजनाका लागि ठोस आधार तयार पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार