२०८३ वैशाख ५ , शनिबार
वन पैदावार र वन्यजन्तु संरक्षणमा कडाइ

सुर्खेतमा १८६ क्युफिट काठ र ४९ टन जडीबुटी बरामद



सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले बहुमूल्य जडीबुटीको अवैध निकासी र वन्यजन्तुको चोरीसिकारी नियन्त्रणमा आफ्नो सक्रियतालाई तीब्र पारेको छ। चालु आर्थिक वर्षको चैत दोस्रो सातासम्मको तथ्याङ्कले वन संरक्षणको क्षेत्रमा कार्यालयले महत्वपूर्ण सफलता हात पारेको देखाउँछ। यो सक्रियताले प्राकृतिक स्रोतको दोहन गर्ने र कानुनको उल्लंघन गर्नेहरूका लागि कडा चेतावनी दिएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत नवराज पौडेलका अनुसार यस अवधिमा कुल ९ वटा गम्भीर मुद्दाहरू दर्ता भएका छन् । जसमा वन पैदावारतर्फ मात्रै ६ वटा मुद्दा मुद्दा छन् । याे भनेकाे काठ र जडीबुटी चोरी निकासी सम्बन्धी मुद्दाहरू हुन् । त्यस्तै वन्यजन्तुतर्फ ३ वटा मुद्दा छन् । जसमा जरायो र बँदेलको मासु बरामद गरिएको घटनासँग सम्बधित हुन्।

याे अवधिमा १८६ क्युफिट काठ र लेकबेँसीको आरनटुँडाबाट संकलित ४९ टन प्रतिबन्धित ‘गुजरगानो’ जडीबुटी नियन्त्रणमा लिइएको छ। कार्यालयले केवल मुद्दा दर्ता मात्र गरेको छैन, फैसला र जरिवाना असुलीमा पनि तदारुकता देखाएको छ । जसमा फैसला भएका मुद्दाहरू मध्ये ४ वटाकाे फैसला भएकाे छ । यी सबै वन पैदावार सम्बन्धी मुद्दाहरू हुन् । त्यस्तै २९१ केजी झ्याउ, १२ केजी सिस्नुको पात र ७९ क्युफिट सालको काठ गरेकाे छ भने उल्लेखित मुद्दाहरूबाट ३ लाख ७१ हजार ४०८ रुपैयाँ जरिवाना असुल गरिएको छ।

सूचना अधिकारी पौडेलका अनुसार, देशमा भएको ‘जेनजी’ आन्दोलनको राजनीतिक अस्थिरतालाई मौका छोपेर बराहतालको गिरीघाट जङ्गलमा अवैध रूपमा निर्माण गरिएका ४६ वटा घरटहरा सुरक्षा निकायको सहयोगमा भत्काइएको छ। वन क्षेत्र मिचेर बनाइएका यस्ता अस्थायी संरचनाहरू हटाउन कार्यालयले शून्य सहनशीलता अपनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार