२०८३ वैशाख ५ , शनिबार
कर्णालीको शैक्षिक 'कायापलट'

१० वर्षे गुरुयोजना अन्तिम चरणमा, समृद्धिको नयाँ मार्गचित्र



सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी एक दशकका लागि तयार पारिरहेको महत्वाकांक्षी ‘शिक्षा सुधार योजना’ अब कार्यान्वयनको अन्तिम संघारमा पुगेको छ। सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/८३ देखि २०९१/९२ सम्म लागू हुने गरी तयार पारेको यो दीर्घकालीन रणनीतिले कर्णालीको शैक्षिक जगलाई नै आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। यो योजना केवल कागजी दस्ताबेज मात्र नभई कर्णालीलाई ‘अन्धकारबाट उज्यालो’ तर्फ डोर्‍याउने एउटा बलियो ‘रोडम्याप’ हुने अपेक्षा गरिएको छ।

शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार, यस १० वर्षे अभियानले केवल साक्षरता मात्र होइन, बरु ज्ञान, सीप र सकारात्मक सोचले भरिपूर्ण नागरिक तयार पार्ने,  शिक्षाको माध्यमबाट कर्णालीलाई पिछडिएको क्षेत्रबाट विकासोन्मुख प्रदेशको रूपमा रुपान्तरण गर्ने र सबै नागरिकका लागि साक्षरतासँगै निरन्तर सिकाइको अवसर सुनिश्चित गर्ने  पक्षहरूमा केन्द्रित छ ।

यस गुरुयोजनाले शिक्षा क्षेत्रमा विद्यमान पुराना चुनौतीहरूलाई चिर्दै नयाँ आयामहरू थप्ने नीति लिएको छ । जसमा प्राविधिक र व्यावसायिक शिक्षातर्फ उच्च शिक्षालाई श्रम बजारसँग जोड्न प्राविधिक धारको विस्तार गर्ने, सुरक्षित वातावरण गर्न शैक्षिक क्षेत्रलाई भय, विभेद र दुर्व्यवहारमुक्त बनाएर सुरक्षित र समावेशी ‘लर्निङ सेन्टर’ बनाउने र प्रविधिमैत्री शिक्षणलाइ प्रभावकारी बनाउन परम्परागत शिक्षण पद्धतिलाई विस्थापित गरी डिजिटल र आधुनिक प्रविधिको प्रयोगमा जोड दिने नीति लिइएकाे छ ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यो योजनाले कर्णालीको शिक्षालाई व्यवस्थित बनाउन स्पष्ट मार्गचित्र प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उनले आगामी बजेटमा यो योजनालाई ‘विशेष प्राथमिकता’ मा राख्ने र योजनाको सफल कार्यान्वयनका लागि सरकार, शिक्षक, विद्यार्थी र अभिभावक बीचको चौतर्फी सहकार्य र इमानदारिता अपरिहार्य  रहेकाे बताए ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार