२०८३ वैशाख ५ , शनिबार
इनिशा मृत्यु प्रकरण

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाइयो अनुसन्धान प्रतिवेदन



सुर्खेत । वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिशा बिकको रहस्यमय मृत्युको घटनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। घटना भएको १९ दिन बितिसक्दा पनि तथ्य सार्वजनिक नभएको भन्दै आफन्तहरूले भने अझै शव बुझ्न मानेका छैनन्।

 गत फागुन २३ गते ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ की इनिशा सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यो घटनाले सुर्खेतमा ठूलो सनसनी मच्चाएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १६ वर्षीय किशोरसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका मुख्य आरोपी किशोरले प्रहरी समक्ष इनिशासँगको शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण उनी बेहोस भएको बयान दिएका छन्।

यता, पोष्टमार्टम रिपोर्टले पनि इनिशाको मृत्युको कारण ‘यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोट र त्यसबाट भएको अत्यधिक रक्तश्राव’ नै देखाएको छ। यद्यपि, यो प्राकृतिक घटना थियो या नियोजित हिंसा, भन्ने विषयमा प्रहरीले ठोस निष्कर्ष खुलाएको छैन। सर्वत्र चासो र आफन्तको विरोधपछि यो प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले अनुसन्धानका सबै रिपोर्ट सरकारी वकिल कार्यालयमा बुझाइएको पुष्टि गरे पनि प्रतिवेदनको विस्तृत विवरणबारे बोल्न अस्वीकार गरेका छन् । प्रहरीले उच्च प्रविधिको प्रयोग गरी अनुसन्धान गरे पनि तथ्य गोप्य राखिँदा घटना थप रहस्यमय बनेको छ।

आफन्तले इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। दोषीमाथि कडा कारबाही र घटनाको सत्यतथ्य सार्वजनिक नहुञ्जेल शव नबुझ्ने उनीहरूको अडान छ। न्यायको पर्खाइमा रहेको इनिशाको शव विगत १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र अवस्थामा छ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार