२०८३ वैशाख ५ , शनिबार
स्थानीय तहलाई मुख्यमन्त्री कार्यालयको ताकेता

‘शहीद र घाइतेको भत्ता विवरण तत्काल पठाउनू’



सुर्खेत । कर्णाली प्रदेश सरकारले जनआन्दोलन तथा प्रदेश प्राप्तिको आन्दोलनमा योगदान पुर्‍याउने शहीद परिवार र घाइतेहरूका लागि प्रदान गरिने भत्ता वितरणमा तीव्रता दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका सबै स्थानीय तहहरूलाई शहीद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण तथा प्रतिवेदन बुझाउन पुनः ताकेता गरेको हो।

मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वितरण गरिएको भत्ताको विस्तृत प्रतिवेदन माग गरेको छ। यसका साथै आगामी माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको आवेदन संकलन र यकिन विवरण समेत पठाउन परिपत्र गरिएको छ। सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार तथा बेपत्ता व्यक्तिका हकवालाले ‘शहीद स्मृति भत्ता’ पाउने व्यवस्था छ। त्यसैगरी, आन्दोलनका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिहरूले ‘जीवन निर्वाह विशेष भत्ता’ प्राप्त गर्दै आएका छन्।

सरकारले ‘शहीद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ बमोजिम यो प्रक्रिया अघि बढाएको हो। मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलका अनुसार स्थानीय तहहरूले कार्यविधिको अनुसूची १ बमोजिम आवेदन संकलन गरी अनुसूची २ को ढाँचामा लाभग्राहीको विवरण पठाउनुपर्नेछ।

कार्यालयले विवरण पठाउनका लागि चैत १५ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ। पहिलो ६ महिनाको खर्च विवरण र आगामी ६ महिनाको अनुमानित विवरण प्राप्त भएपछि मात्रै मुख्यमन्त्री कार्यालयले स्थानीय तहहरूलाई थप रकम निकासा गर्नेछ।

यसअघि वितरण भएको रकमको प्रतिवेदन र नयाँ लाभग्राहीको यकिन विवरण प्राप्त भएपछि मात्रै दोस्रो चरणको बजेट पठाइने शाखा अधिकृत कँडेलले स्पष्ट पारिन्। यो कदमले वास्तविक पीडितसम्म सरकारी सुविधा पुर्‍याउन र आर्थिक पारदर्शिता कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार