२०८३ वैशाख ५ , शनिबार
कर्णालीमा क्षयरोगको चुनौती

८ महिनामा ८६१ नयाँ बिरामी, सुर्खेत ‘हटस्पट’



सुर्खेत । विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्याङ्कले कर्णाली प्रदेशमा क्षयरोग निवारणको पाटोमा आशा र चुनौती दुवै देखाएको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो ८ महिनामा मात्रै प्रदेशका १० जिल्लामा ८६१ जना नयाँ बिरामी थपिएका छन्।

संख्यात्मक रूपमा बिरामीको कुल ग्राफ ओरालो लागे पनि नयाँ संक्रमण फैलने क्रम नरोकिनुले जनस्वास्थ्यमा गम्भीर प्रश्न खडा गरेको छ।

निर्देशनालयका क्षयरोग/कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार, भौगोलिक र जनघनत्वका आधारमा बिरामीको संख्या फरक देखिएको छ । जस अनुसार सुर्खेतमा मात्रै २९६ जना क्षयराेगीहरू छन् । याे प्रदेशकाे सबैभन्दा बढी संख्या हाे । त्यस्तै सल्यान र जाजरकोटमा क्रमशः १०४ र १०१ जना क्षयराेगीहरू छन् । हिमाली जिल्लाहरूमा भने क्षयराेगीहरू तुलनात्मक रूपमा कम छन् । हुम्ला र मुगुमा १९/१९ जना क्षयराेगीहरू छन् । जुन प्रदेशकाे सबैभन्दा कम क्षयराेगीहरूकाे संख्या हाे । तर हुम्ला, डोल्पा र मुगु जस्ता जिल्लामा संख्या कम देखिनुको अर्थ त्यहाँ रोग नहुनु होइन, बरु परीक्षणको दायरा साँघुरो हुनु र भौगोलिक विकटताले बिरामी अस्पतालसम्म नपुग्नु रहेको निर्देशनालयको आँकलन छ।

क्षयरोगीहरुलाई फलफूल वितरण गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कर्मचारीहरु ।

कर्णालीमा क्षयरोग विरुद्धको लडाइँलाई तीव्र पार्न हाल विभिन्न उपचार केन्द्रहरू सक्रिय छन् । जसमा हेरचाह केन्द्रमात्रै ४१५ वटा, एमडीआर (MDR) केन्द्र २ वटा, जीन विशेषज्ञ केन्द्रक १० वटा र माइक्रोस्कोपी ३३ वटा छन् । कर्णालीका ९ जिल्लामा एमडीआर (MDR) केन्द्रकाे सुविधा पुगे पनि डोल्पा अझै यस प्रविधिबाट वञ्चित छ ।

हरेक वर्ष मनाउने क्षय राेगी निवारण दिवश यसपालि पनि मनाइएकाे छ । ‘हो!  हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ कर्णालीमा पनि सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ। वीरेन्द्रनगर नगर अस्पतालको समन्वयमा आयोजित कार्यक्रममा बिरामीहरूलाई फलफूल वितरण गर्दै उनीहरूको आत्मबल बढाउने काम गरियो। कार्यक्रममा निर्देशक डा. रविन खड्का लगायतका सरोकारवालाहरूले क्षयरोगलाई समाजबाट पूर्णतः निवारण गर्न नागरिकको सहभागिता अनिवार्य रहेकोमा जोड दिए।

कर्णालीमा गत आर्थिक वर्षको तुलनामा बिरामीको संख्या केही घटेको देखिएकाे छ । गत वर्षा प्रदेशभर कुल  १ हजार ७१४ जना क्षयराेगीहरू थिए । चालु अार्थिक वर्षमा याे संख्या घटेर १ ५३९ मा झरेको छ । नयाँ बिरामी पत्ता लाग्ने क्रमले समुदायमा संक्रमण अझै ‘लुप्त’ अवस्थामा रहेको संकेत गर्छ। त्यसैले, “परीक्षण नै निवारणको पहिलो खुड्किलो हो” भन्ने मान्यताका साथ हिमाली भेगमा स्क्रिनिङ क्याम्पहरू बढाउनु पर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार